काठमाडौं । संवैधानिक व्यवस्था अनुसार केन्द्र र प्रदेश सरकारपछि आज स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेका छन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले व्यवस्था गरे अनुसार स्थानीय सरकारले हरेक वर्ष असार १० गते आगामी वर्षको बजेट ल्याउनु पर्दछ । सोही व्यवस्था अनुसार आज देशका एकाध बाहेक अधिकांश स्थानीय तहले आगामी वर्षको बजेट ल्याएका छन् ।
अहिले देशका ७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका छन् । आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट काठमाडौं नगरपालिकाले ल्याएको छ । काठमाडौंले आगामी वर्षका लागि झण्डै साढे १६ अर्बको बजेट ल्याएको छ ।
यस्तै आगामी वर्षका लागि विराटनगर महानगरपालिकाले सबैभन्दा कम ३ अर्ब ३७ करोडको बजेट ल्याएको छ ।
सबै महानगरले कोरोनाले थङथिलो बनाएको अर्थतन्त्र उकास्न सहयोग पुग्नेगरी रोजगारी, कृषि, स्वास्थ्य लगायत क्षत्रेलाई केन्द्रित गरेर बजेट ल्याएका छन् ।
कुन महानगरपालिकाले कतिको बजेट ल्याए ?
काठमाडौं महानगरपालिका १६ अर्ब ४३ करोड
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार नगरसभाको सातौँ अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा सबैभन्दा धेरै पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ५१.३४ प्रतिशत हो ।
त्यस्तै, सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख र आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख बजेट रहेको छ ।
महानगरले आगामी वर्ष अन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । त्यसैगरी बाह्य स्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, सशर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ४७९० रुपैयाँ, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजारसहित ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
पोखरा महानगरपालिकाको बजेट ६ अर्ब १९ करोड
पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पोखरा महानर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नगरसभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
कुल बजेटमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख रुपैयाँ गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने महानगरको अनुमान छ ।यस्तै, अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान महानगरको छ ।
राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख, आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान बजेटले गरेको छ ।
ललितपुर महानगरपालिका : ४ अर्ब ७९ करोड
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ रुपैयाँ बराबरको बजेट ल्याएको छ।
महानगरको यो बजेट चालू आर्थिक वर्षको भन्दा करिब ५२ करोड रुपैयाँले कम हो। चालू आवका लागि ललितपुरले ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको थियो।
वीरगन्ज महानगरपालिका : ३ अर्ब ८६ करोड
वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३३५ को आयव्यय प्रस्तुत गर्दै आज सातौँ नगरसभा सम्पन्न गरेको छ ।
प्रस्तुत बजेटमा चालूतर्फ १ अर्ब ६२ करोड ६९ लाख १८ हजार, पूँजीगततर्फ २ अर्ब १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ ६ करोड ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कुल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार, सामाजिक विकासतर्फ ८७ करोड ७७ लाख ३६ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ७७ करोड ६ लाख १२ हजार, सुशासन तथा अन्तरसम्बन्धी- वन, वातावरण तथा विपत्समेततर्फ २३ करोड ७५ लाख १६ हजार र कार्यालयतर्फ ७१ करोड ९८ लाख १ हजार व्ययको अनुमान प्रस्तुत गरिएको छ ।
सो बजेटमा आगामी वर्ष सञ्चालन हुने आयोजनामा ‘आरयुडिपी’ तथा ‘एसटिआइयुइआइपी’ तर्फ १ अर्ब चार करोड ४७ लाख ५७ हजार, वडास्तरीय योजनाहरुमा २४ करोड ७० लाख, म्याचिङ फन्डमा १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रमतर्फ २ करोड ३४ लाख र तराईमधेश समृद्धि कार्यक्रमतर्फ ३० लाख रहेको छ ।
सडक बोर्ड कार्यक्रमतर्फ १ करोड, रोजगार कार्यक्रमतर्फ ४० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु ४५ करोड, वडा भवनतर्फ रु तीन करोड, उज्यालो वीरगन्ज कार्यक्रमतर्फ १२ करोड ८१ लाख, शैक्षिक विकासतर्फ ६२ करोड ६४ लाख, स्वास्थ्यतर्फ १४ करोड ६८ लाख ८० हजार, कृषि विकासतर्फ ८३ लाख, पशुसेवा विकासतर्फ ४३ लाख तथा जनसहभागितामा आधारित कार्यक्रमतर्फ तीन करोडको बजेट व्यवस्थापन गरिएको छ ।
विराटनगर महानगरपालिका : ३ अर्ब ३७ करोड
विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि कुल ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको वार्षिक बजेट ल्याएको छ ।
जसमा आन्तरिक आम्दानीतर्फ ८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ ७६ करोड ८२ लाख ५२ हजार, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ ३८ करोड सात लाख ६८ हजार र सङ्घीय सरकारको सशर्त अनुदानतर्फ १ अर्ब २ करोड ९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानबाट आउने २ करोड १० लाख ९ हजार, सङ्घीय सरकार विशेष अनुदानतर्फ १३ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ ३ करोड, वैदेशिक र अन्य सङ्घसंस्था अनुदानतर्फ ३ करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने ९ करोड ६२ लाख ५ हजार रुपैयाँ स्रोत रकम देखाइएको छ ।
विनियोजित कुल व्ययतर्फ ३ अर्ब ३७ करोड ८१ लाख मध्ये प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड, वातावरण तथा फोहरमैला व्यवस्थापनतर्फ ल्याण्डफिल्ड साइटको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार रहेको छ ।
त्यस्तै नगर स्वास्थ्यतर्फ सङ्घीय सरकारसमेत ११ करोड ५७ लाख ९५ हजार र शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख ५ हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकूदमा २ करोड ९ लाख २४ हजार, अन्य कार्यक्रममा ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पूँजीगत खर्च १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरिएको छ ।
भरतपुर महानगरपालिका : ४ अर्ब १५ करोड
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको छ । महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो ।
महानगरले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ४६ करोड १२ लाख ५१ हजार रहेको छ ।
यस्तै आम्दानीतर्फ जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोषबाट २ करोड र सडकबोर्ड नेपालबाट १ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।