भारतमा लकडाउन खुकुलो भएसँगै उकालो लागेको तेलको भाउ बढ्ने क्रम जारी छ ।
पछिल्लो ३ सातायता तेलको भाउ १० प्रतिशतभन्दा धेरैले बढेको छ । १८ दिनयता पेट्रोलको भाउ प्रतिलिटर ८.५० रुपैयाँ बढेको छ भने डिजेलमा प्रतिलिटर १० .४९ रूपैयाँ बढिसकेको छ।
१८ दिनयता तुलनात्मक रूपमा पेट्रोलभन्दा डिजेलमा मूल्यवृद्धि भएको छ। नयाँ दर अनुसार दिल्लीमा बुधबार डिजेल प्रतिलिटर ७९.८८ रुपैयाँ पुगेको छ भने पेट्रोल प्रतिलिटर ७९.७६ रूपैयाँ पुगेको छ ।
नयाँ दिल्लीमा पेट्रोलभन्दा डिजेल महंगो भएको यो पहिलोपटक हो । सरकारी तेल कम्पनीहरूले बुधबार पनि डिजलको मूल्य बढाउँदा डिजलको भाउले पेट्रोलको बिक्री मूल्यलाई उछिनेको हो। तेलको भाउ बढ्नुको मुख्य कारण राज्य सरकारले कर बढाउनु बताइएको छ ।
तेल कम्पनीहरूले ७ जुनयता इन्धनको मूल्य दैनिक संशोधन गर्दै आएका छन्। यसअघि ८२ दिनसम्म इन्धनको मूल्य फेरबदल भएको थिएन।एजेन्सी