खेर जाने सुन्तला बियाँबाट लाखौं आम्दानी

सुन्तलाको बियाँ बीउका लागि सुरक्षितसाथ संकलन गर्न सके राम्रो गर्न सकिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका सुन्तला किसान बन्दाबन्दी अवधिमा सुन्तलाको बीउबाट उत्पादित बिरुवाको कारोबारबाट राम्रो आम्दानी गरी नमूना बनेका छन् ।

 

रैनादेवी छहरा–४,सल्लेधाराका ददीराम पोखरेलले झण्डै चार हजार सुन्तला र कागतीको बिरुवाबाट करीब २ लाख रुपैयाँ आम्दानी भएको बताए। सुन्तला, कागती, जुनारलगायत बिरुवाको बगनासकाली र रैनादेवी गाउँपालिकाबाट ठूलो मात्रामा माग भएको छ ।

 

एउटा सुन्तला र कागतीबाट आठदश बिरुवा हुर्काउन सकिने हुँदा पैसा कमाउना लागि दुःख नै नभएको उनले बताए । प्रतिसुन्तला र कागतीका विरुवा २५ रुपैयाँ र कलमी विरुवा ४५ रुपैयाँमा घरबाट नै कारोबार हुँदै आएको उनी बताउँछन् ।

 

रैनादेवी छहरा गाउँपालिकाको अम्लाबासका मनबहादुर बगालेले पनि बन्दाबन्दी अवधिमा आठ नौ हजार सुन्तला विरुवाको कारोबार भएको बताए । गत वर्ष असारसाउनमा मात्र बिरुवाको बिक्री हुने गरेकामा यस वर्ष जेठमै विरुवा सकिएको बगालेले बताए।

 

गाउ फर्केका युवा अहिले आफ्नै घरबारीमा सुन्तला, कागती, जुनार जस्ता बोटविरुवा लगाउन व्यस्त छन् । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की व्यावसायिक रुपमा सुन्तला किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने योजना रहेको बताए ।

 

गाउँपालिकाले बाँझो जमीनमा अन्न तथा फलफूल किसानलाई ३ हजारदेखि ५ हजारसम्मको अनुदानको व्यवस्था गरेकाले युवाहरु सुन्तला तथा कागती खेतीप्रति आकर्षित देखिएको उनी बताउँछन् ।

 

जिल्लामा वार्षिक ५ हजार ६६० टन सुन्तला उत्पादन हुँदै आएको छ । गत आर्थिक वर्षमा मात्र जिल्लाले करीब रु ११ करोड आम्दानी गर्न सफल भयो । पाल्पामा ८५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाल्पा प्रमुख शिव अर्यालले बताए।

 

पाल्पामा उत्पादित सुन्तलाका बिरुवा म्याग्दी, पर्वत, बालुङलगाया जिल्लामा ठूलो मात्रामा निर्यात हुँदै आएको छ । गत आव २०७५।०७६ मा सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले बाहिरी जिल्लामा निर्यात गरी ८ लाख आम्दानी गरेको थियो । रासस

भारतमा तेलको भाउ आकाशियो, पेट्रोलभन्दा डिजेल महँगो Read Previous

भारतमा तेलको भाउ आकाशियो, पेट्रोलभन्दा डिजेल महँगो

भरतपुर महानगरले ल्यायो ४ अर्ब १५ करोडको बजेट Read Next

भरतपुर महानगरले ल्यायो ४ अर्ब १५ करोडको बजेट