काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको छ । महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । जसमध्ये ४८ करोड चालू खर्च रहेको छ ।
बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ६९ करोड २ लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु ४६ करोड १२ लाख ५१ हजार रहेको बताए ।
यस्तै आम्दानीतर्फ जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोषबाट २ करोड र सडकबोर्ड नेपालबाट १ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।
चालू आर्थिक वर्षका लागि अघिल्लो वर्ष ३ अर्ब ३४ करोडको बजेट प्रस्तुत गरिएको थियो । तर जेठ मसान्तसम्मको पुरक बजेट तथा थप अख्तियारीसमेत गरी कूल अनुमानित आय ४ अर्ब ५१ करोड २८ लाख ८ हजार पुगेको छ । आउँदो वर्षका लागि बजेट कोभिड १९– बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिलाई रोजगार सिर्जना गर्न केन्द्रित भएको छ ।
नीति तथा कार्यक्रममा आर्थिक, भौतिक, सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाइ राष्ट्रको विकासमा टेवा पुर्याउने बजेटमा उल्लेख छ । बजेटमा आउँदो आर्थिक वर्षका लागि ११ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
ती क्षेत्रमा शहरी सौन्दर्य र भू-उपयोग एवं बस्ती विकासमा ४७ करोड ३० लाख ९७ हजार, स्वास्थ्य सेवा सुधार एवं पहुँचमा ९ करोड ५० लाख, शिक्षामा ९ करोड, कृषि तथा पशुपक्षी विकासमा १५ करोड ५० लाख, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन र विपद् व्यवस्थापनमा ८ करोड विनियोजन गरिएको छ ।
यसैगरी रोजगारी सिर्जना तथा सहकारी प्रर्वद्धनमा ४ करोड, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा ३ करोड, लक्षित वर्ग उत्थान, सशक्तीकरण एवं सामाजिक समावेशीकरणमा २ करोड ५० लाख, प्रविधि प्रयोग तथा डिजिटल प्रणालीमा २ करोड ५० लाख, युवा तथा खेलकूदमा २ करोड, राजस्व, प्रशासन तथा वित्तीय सुशासनमा २ करोड, उद्योग वाणिज्य तथा निजी क्षेत्रसँग सहकार्यमा १ करोड ५० लाख, सेवा प्रवाह र प्रशासनमा ७७ करोड विनियोजन गरिएको छ ।