काठमाडौं । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य फेरि वृद्धि गरेको छ । संघले आजदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्यारेट २० रुपैयाँ बढाएको हो ।
संघले यसअघि २८५ रुपैयाँ रहेको प्रति क्यारेट अण्डाको मूल्यमा २० रुपैयाँ वृद्धि गरी ३०५ रुपैयाँ पुर्याएको छ । लकडाउन खुकुलो हुँदै गएसँगै अण्डाको मागमा वृद्धि भएको तर उत्पादन भने घटेकाले मूल्यवृद्धि गरिएको संघले बताएको छ ।
संघले लकडाउन यता अण्डाको मूल्य बढाएको तेस्रो पटक हो । लकडाउन अघि प्रतिक्यारेट २४० रुपैयाँ रहेको अण्डाको मूल्य ३ महिनाको अवधिमै ३ पटक बढाएर अहिले प्रतिक्यारेछ ३०५ रुपैयाँ पुर्याइएको छ ।
लकडाउन अघि प्रतिक्यारेट २४० रुपैयाँ रहेको अण्डाको भाउ संघले बैशाखमा २० रुपैयाँ बढाएर २६० रुपैयाँ पुर्याएको थियो । त्यसपछि पनि पुनः प्रतिक्यारेट २० रुपैयाँ बढाएर २८५ पुर्याइएको थियो ।
नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराज केसीले उत्पादन कम माग बढी भएकोले मूल्य बढेको बताए । ‘हामीले कृषकको फार्मबाट प्रतिक्यारेट ३०५ रुपैयाँ विक्री गरेका छौँ, बजारको विक्री मूल्य ३१० रुपैयाँ तोकिएको छ,’ उनले भने ।
लकडाउनका कारण दाना खुवाउन नपाएपछि कुखुरा राम्रोसँग पाल्न नसक्ने अवस्था सृजना भएको उनले बताए । ‘कुखुरा पाल्नै नसक्ने भएपछि किसानहरुले कुखुराको माउ नै बेच्न थाले । यसको समाधानका लागि अझै समय लाग्छ । पाल्न थालेर २/३ दिनमा हुने हैन समय लागि हाल्छ,’ केसीले भने ।
किसानको फर्ममा प्रतिक्यारेट ३०५ रुपैयाँ पर्ने अण्डाको मूल्य उपभोक्ताको भन्सासम्म पुग्दा अब ३५० देखि ३६० रुपैयाँसम्म पर्ने भएको छ ।
मूल्यवृद्धि गर्दा पनि अहिले किसानले लागतमूल्य भन्दा घाटामा अण्डा बेचिरहेको र एउटा अण्डामा १.१६ पैसा घाटामा अण्डा बेच्दै आइरहेको संघको दाबी छ ।
लकडाउनको कारण दाना अभावले पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका छन् । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ।
पछिल्लो समय नेपाल अण्डामा आत्मनिर्भर बनेको छ । सामान्य अवस्थामा नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुने भएपनि लकडाउनका कारण बीचमा किसानले ठूलो परिणाममा चल्ला नष्ट गरेकाले अहिले त्यसमा झण्डै आधाले कमी आएको संघले जनाएको छ ।