काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले कोरोना महामारीका बीच सरकारले प्रधानमन्त्रीका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै त्यसप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेका छन् ।
मंगलबार प्रतिनिधिसभा संसद बैठकमा बोल्दै उनले सरकारले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोडको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीसँग जवाफ मागेका हुन्।
गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएको र असार ३ गतेदेखि नेपाल प्रहरीले यसको प्रक्रया अगाडि बढाएको भन्ने खबर सञ्चार माध्यममा आएको भन्दै उनले गृहमन्त्रीसँग जवाफ मागेका हुन् ।
‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फलुज खर्च गर्न तयारी गरेको हो ?,’ उनले प्रश्न गरे, ‘माननीय गृहमन्त्रीज्यू यसको जवाफ पाऊँ ।’