सरकारले नुनदेखि सुनसम्मका १० वटा खानी सञ्चालन गर्ने दिने, बोलकबोलबाट कम्पनी छनोट

काठमाडौं । सरकारले बोलकबोल प्रक्रियाबाट १० नयाँ खानीको सञ्चालन गर्न दिने तयारी गरेको छ ।

 

खानी तथा भूगर्भ विभागले बुधबार एक सूचना प्रकाशन गर्दै नुनदेखि सुनसम्मका खानीको उत्खनन तथा अनुसन्धानका लागि अनुमति दिइने जनाएको छ । विभागले तामा, चुनढुंगा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतको उत्खनन-अध्ययन गर्न  अनुमति दिने जनाएको छ ।

 

विभागले ३५ दिनभित्र खानीको उत्खनन-अध्ययन गर्न इच्छुक फर्म तथा कम्पनीहरूबाट आवेदनको माग गरेको छ।

 

विभागले रोल्पाको सुनछहारी गाउँपालिकामा सुनखानी सञ्चालनका लागि लाइसेन्स खोलिएको छ । त्यहाँको फुलिबन र धन्पुटार क्षेत्रमा सुनखानी रहेको बताइएको छ ।

 

विभागले लाइसेन्स खुला गरेका खानीमा सबैभन्दा बढी तामाका रहेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका, मकवानपुरको थाहा नगरपालिका र उदयपुरको कटारी नगरपालिकामा तामाको भण्डार रहेको छ ।

 

बेनिघाटको धुषा, थाहाको आग्रा र कटारीको लेखानीमा रहेको तामा उत्खननका लागि लाइसेन्स खुला गरिएको हो ।

 

त्यसैगरी, सल्यानको कपुरकोट गाउँपालिका र धादिङको बेनिघाट रोराङ गाउँपालिकामा चुनढुंगा खानीका लागि लाइसेन्स खोलिएको छ ।

 

मुस्ताङको बराहगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा नुन खानीको लाइसेन्स खोलिएको छ । त्यहाँ ७० देखि ९४ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको छ ।

 

मकवानपुरको थाहामा ग्रेनाइट र काओलिन र पाल्पाको निस्दी गाउँपालिकामा कोइला खानीका लागि पनि लाइसेन्स खोलिएको छ ।

 

चुनढुंगा, नुन र ग्रेनाइटका लागि खानीको लाइसेन्स दिन लागिएको हो भने बाँकीका लागि प्रोस्पेक्टिङ लाइसेन्स खोलिएको हो ।

सानिमा बैंकद्वारा करुणा फाउन्डेसनलाई १० लाख सहयोग Read Previous

सानिमा बैंकद्वारा करुणा फाउन्डेसनलाई १० लाख सहयोग

विद्युतको नयाँ महसुल निर्धारण, कति युनिट खपत गर्नेले कति तिर्नुपर्छ (सूचीसहित) Read Next

विद्युतको नयाँ महसुल निर्धारण, कति युनिट खपत गर्नेले कति तिर्नुपर्छ (सूचीसहित)