अर्थतन्त्रलाई ठूलो धक्का, नेपाल भित्रिने रेमिट्यान्स ४४ अर्ब घट्यो

काठमाडौं । कोरोनाका कारण विश्वका अधिकांशदेशहरु नराम्ररी प्रभावित भएसँगै नेपाल भित्रिने रेमिटेन्समा ठूलो गिरावट आएको छ ।

 

वैदेशिक रोजगारीका लागि धेरै नेपाली कामदार जाने मलेसियासहित खाडी मुलुकहरुमा मन्दी आएसँगै त्यहाँबाट नेपाल आउने रेमिट्यान्स पनि ह्वात्तै घटेको हो ।

 

राष्ट्र बैंकले सार्वजनिक चालू आवको वैशाखसम्मको वित्तीय विवरण अनुसार गत वर्षको यस अवधिको तुलनामा नेपाल भित्रिने रेमिट्यान्समा करिब ४४ अर्बले कमी आएको हो।

 

राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखसम्ममा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आवको सोही अवधिको तुलनामा ६.१ प्रतिशतले कमी हो ।

 

गत आवको सोही अवधिमा ७ खर्ब २४ अर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको थियो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो।

 

कोरोनाका कारण रेमिट्यान्स मात्रै नभई वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि उल्लेख्य कमी आएको छ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको हो।

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ।

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो।

कोरोना बल्झिएपछि बेइजिङमा १२ सयभन्दा बढी उडान रद्द Read Previous

कोरोना बल्झिएपछि बेइजिङमा १२ सयभन्दा बढी उडान रद्द

अझै ७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति Read Next

अझै ७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति