कोरोना भाइरसका नयाँ संक्रमित बढ्न थालेपछि चीनको राजधानी बेइजिङमा १२ सयभन्दा बढी उडान रद्द गरिएको छ।
चिनियाँ सञ्चार माध्यम पीपुल्स डेलीका अनुसार बुधबार बेइजिङका विमानस्थलबाट हुने कम्तीमा १ हजार २५५ निर्धारित उडानहरु रद्द भएका छन् ।
बेइजिङका सबै विमानस्थलहरु बन्द गरिएको छ । साथै विद्यालयहरु पनि बन्द गरिएको छ। नयाँ संक्रमितको कनेक्सन होलसेल खाद्य बजारसँग देखिएपछि राजधानीमा सतर्कता बढाइएको छ।
बेइजिङमा बुधबार ३१ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमित बढेपछि अधिकारीहरूले बेइजिङ नछोड्न नागरिकलाई आग्रह गरेका छन्। होलसेल खाद्य बजारसँग जोडिएका सहरभित्र लकडाउन गरिएको छ।
अधिकारीहरुले जोखिम क्षेत्रका बासिन्दालाई यात्रा प्रतिबन्ध लगाएका छन् भने अन्य नागरिकलाई पनि बेइजिङ छोड्दा परीक्षण गर्न भनिएको छ।
यसैबीच, अन्य प्रान्तले बेइजिङबाट आएका यात्रुलाई क्वारेन्टाइनमा राखेका छन्। बेइजिङमा खोलिएका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ।
बेइजिङ सहरका प्रवक्ता जू हेजियानले राजधानीमा महामारीको अवस्था अत्यन्त गम्भीर रहेको चेतावनी दिएका छन्। उनका अनुसार धेरै ठाउँमा सामूहिक परीक्षण भइरहेको छ। अधिकारीहरुले ११ वटा बजार बन्द गरेका छन्। हजारौं खाद्यान्न र पेय पदार्थलाई डिसइन्फेटेड गरिएको छ।
नगरपालिका स्वास्थ्य आयोगका अनुसार बेइजिङमा पछिल्लो ६ दिनमा संक्रमितको संख्या १३७ पुगेको छ। यससँगै कोरोना भाइरसलाई नियन्त्रणमा राखेको चीनमा फेरि संक्रमण फैलिने खतरा बढेको छ।
एजेन्सी