असार ७ गतेभित्र शुल्क बुझाए टेलिकमले विलम्ब शुल्क मिनाहा गर्ने

काठमाडौं । नेपाल टेलिकम समयमै शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म विलम्ब शुल्क मिनाहा गर्ने भएको छ।

 

टेलिकमको सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझउन लकडाउनका कारण ढीलाई हुन गएका ग्राकलाई मध्येनजर गर्दै यस्तो व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

 

ग्राहकले यही असार ७ गतेसम्म शुल्क बुझाए कुनै जरिवाना नलाग्ने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, असार ७ गतेपछि महसुल बुझाएमा नियमानुसार विलम्ब शुल्क लागू हुने टेलिकमले जनाएको छ ।

 

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुट अन्त्य गरी असार १ गतेदेखि नियमित शुल्क नै लागू गरिएको छ।

 

टेलिकमले ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहेको प्रवक्ता राजेश जोशीले बताए ।

 

नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित चार जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानमा कम्पनीले दुई वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो।

 

ती स्थानलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टिनस्थल बनाएकाले प्राधिकरणको अनुरोधमा २०७६ चैत २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सञ्चालन गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय भएको जनाइएको छ।

 

कम्पनीले एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेदेखि नै शुरु गरेको छ। एउटै लाइनबाट फोन, डाटा र टिभी सेवासमेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मतसम्बन्धी गुनासोका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये चार नम्बर थिची बिहान ८ देखि साँझ ६ बजेसम्म सिधै अपरेटरलाई गुनासो टिपाउन सकिने छ।

 

बन्दाबन्दीको अवधिमा भ्वाइस र डाटा सेवाप्रति ग्राहकको आकर्षण बढेको छ। भ्वाइस र डाटा उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको टेलिकमले जनाएको छ।

विवादित डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज, बिजुलीको महशुल समायोजन (पूर्णपाठ) Read Previous

विवादित डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज, बिजुलीको महशुल समायोजन (पूर्णपाठ)

कोरोना बल्झिएपछि बेइजिङमा १२ सयभन्दा बढी उडान रद्द Read Next

कोरोना बल्झिएपछि बेइजिङमा १२ सयभन्दा बढी उडान रद्द