काठमाडौं । लकडाउनको ३ महिना पुग्नै लाग्दा बल्ल सरकारले निजी व्यवसायहरु सञ्चालन गर्न पाउने निर्णय गरेको छ । यसै क्रममा सिमेन्ट तथा स्टिल उद्योगहरु पनि सञ्चालनमा आउने तयारीमा रहेका छन् । तर, सिमेन्ट निर्माणका लागि आवस्यक चुनढुङ्गा ल्याएर स्टक गर्न नसक्दा सिमेन्ट उत्पादनमा समस्या आएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले बताए ।
लकडाउन कै कारण यो पटक सिमेन्ट उद्योगले खानीबाट चुनढुङ्गा ल्याउन सकेका छैनन् । जस कारण कतिपय सिमेन्ट उद्योगीहरु उद्योग नै बन्द गर्ने अवस्थामा पुगेका छन् ।
केही उद्योगहरुले स्टक रहेका कच्चा पदार्थबाट सिमेन्ट उत्पादन गरिरहेका छन् । यसरी चुनढुङ्गा बोक्न नपाउदा अब भारतबाट क्लिङकर ल्याउनु पर्ने अवस्था सृजना भएको अध्यक्ष थापाले बताए ।
‘लकडाउनमा खानीबाट चुनढुङ्गा ल्याउन पाइएन, अब बर्खा लाग्यो, स्टक रहेका केही उद्योग सञ्चालनमा छन्, केही बन्द अवस्थामा छन्, क्लिङकर भारतबाट आयात गरे सिमेन्टको मूल्य पनि बढ्ने छ, अनि यो क्षेत्र झनै धारासायी हुने छ,’ थापाले चाणक्य पोष्टसँग भने ।
सिमेन्ट उद्योगहरुले फागुनदेखि जेठ १५ सम्ममा खानीबाट चुनढुङ्गा ल्याएर स्टकमा राख्ने गरेका थिए । लकडाउनका कारण यो पटक कुनै पनि उद्योगले चुनढुंगा ल्याउन सकेनन् ।
उनले बर्खामा चुनढुङ्गा खानी बन्द हुने र खुले पनि कच्ची सडकमा गाडी चलाउन नसकिने बताए । ‘अब वर्खामा चुनढुङ्गा ल्याउन सकिदैन । खानी बन्द हुन्छ । खुले पनि ल्याउन सम्भव छैन, वर्खामा माग पनि धेरै हुँदैन, भएका केही स्टक विकास निर्माणका लागि प्रयोग भइरहेका छन्,’ थापाले भने ।
दैनिक ५० देखि ६० करोडको सिमेन्ट बजारमा विक्री हुने गरेको थियो । लकडाउनका कारण उद्योगले ७ अर्बको हाराहारीमा व्यवसाय गुमाउनु परेको उनले बताए ।
पछिल्लो समय केही निर्माणका कामहरुका लागि आंशिक उद्योगहरुले क्षमताको ३० देखि ४० प्रतिशत सिमेन्ट उत्पादन गरिरहेको उनले जानकारी दिए ।
यस्तै अर्का उद्यमी पशुपति मुरारकाले चुनढुङ्गा ल्याउने समयमा आन्तरिक जिल्लामा गाडी चल्न दिइएन र चुनढुङ्गा ल्याउन नसक्दा यो वर्खामा उद्योग पूर्ण क्षमतामा चल्न नसक्ने बताए ।
उनका अनुसार केही सिमेन्ट उद्योगीहरुसँग कच्चा पदार्थ (चुनढुंगा) नहुँदा उत्पादन शून्य रहेको छ । असोज मसान्तसम्म खानीबाट चुनढुङ्गा ल्याउन सक्ने अवस्था छैन । केही भएको स्टक मिलाएर उद्योग चलाउनु पर्ने अवस्था रहेको उनको भनाई छ । ‘केही उद्योग कच्चा पदार्थ नहुँदा बन्दै रहेका छन्, हामी स्टकबाटै काम चलाउदै छौँ,’ मुरारकाले चाणक्य पोष्टसँग भने ।
उनले लकडाउन कै समयमा पनि बैशाख २५ देखि जेठ २० सम्म सिमेन्टको माग निकै उच्च रहेको बताए । सो समयमा लकडाउन अघि सुरु भएका निर्माणभिन काम पुरा गर्नु पर्ने भएकाले माग धेरै भएको र अहिले घट्दो क्रममा रहेको जानकारी दिए ।
स्टिलको अवस्था सामान्य
हिमाल स्टिलका सञ्चालक अभिक ज्योति लकडाउनमा स्टिलको उत्पादन तथा वितरण शून्य रहेको बताउँछन् । लकडाउन खुल्न थालेकाले हाडवेयर पसलहरु भर्खर खुल्न थालेको र उद्योगहरु पनि सञ्चालन गर्ने तयारीमा रहेको ज्योतिले बताए ।
हाल स्टिल उद्योगसँग २ देखि ३ हजार विलेट (स्टिल बनाउने कच्चा पदार्थ) स्टक रहेको छ । सो स्टक १ महिना विक्री गर्नलाई पर्याप्त रहेको उनले बताए । लकडाउनकै कारण केही अडरहरु समेत रद्ध हुन पुगेको उनको भनाई छ ।
नेपालमै भएका स्टकहरु सप्लाईमा समस्या सृजना भएको उनको गुनासो छ । भारतबाट सिधै काठमाडौं ल्याउन कुनै रोक नभए पनि नेपाल भित्रै ढुवानीमा भने सहजता नभएको उनले बताए ।
‘भारतबाट ल्याउन केही समस्या छैन तर, नेपालमै ढुवानीमा समस्या भयो, त्यसले कतिपय अर्डर समेत रद्ध हुन पुग्यो,’ ज्योतिले चाणक्य पोष्टसँग भने ।
स्टिलको लागि आवश्यक कच्चा पदार्थहरु भारतबाट सहजै आइरहेकाले स्टिल उत्पादनमा समस्या नरहेको व्यवसायीहरुको भनाई छ ।