नक्शा सम्बन्धी विधेयक सर्वसम्मतिले पारित, निशान छापमा नयाँ नक्शा राख्ने बाटो खुल्यो

काठमाडौं । वास्तविक नक्शा सम्बन्धी विधेयक संसदबाट सर्वसमतिले पारित भएको छ ।

 

संघीय संसदको प्रतिनिधिसभाको शनिबारको बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

 

प्रतिनिधि सभामा संशोधनको पक्षमा २५८ मत परेको छ। विपक्षमा शून्य मत परेको छ। अब विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि कार्यान्वयनमा आउनेछ।

 

आजको बैठकमा विधेयकमाथि दफावार छलफलपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

 

सो प्रस्तावमाथिको छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको थियो ।

 

यो विधेयक पारित भएसँगै मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ। नेपालको नक्साअनुसारको निशान छाप परिवर्तनका लागि सरकारले ९ जेठमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो।

 

सन् १८१६ को सुगौली सन्धी अनुसार लिम्पियाधुरा सहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै सरकारले निशान छाप परिवर्तनका लागि संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेको थियो।

 

नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले सरकारले प्रतिनिधिसभा विधेयक दर्ता गराएको हो।

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो Read Previous

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

लकडाउनमा खानी चलाउन नदिँदा भारतबाट क्लिङकर ल्याउनु पर्ने अवस्था Read Next

लकडाउनमा खानी चलाउन नदिँदा भारतबाट क्लिङकर ल्याउनु पर्ने अवस्था