लकडाउनमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

झापाको मेचीनगर नगरपालिका-९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख रुपैयाँ आर्जन गरेका छन् ।

 

विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे ।

 

यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर ह्वात्तै उकासेको छ । उप्रेती आफैँले पनि १५ लाखको खरबुजा बिक्री गरेको बताए। हरेक घरले कम्तीमा १ लाख र बढीमा १० लाखसम्म नाफा आर्जन गरेको किसानको नेतृत्व गरेका उप्रेतीले बताए ।

 

डीएण्डडी वायो प्लानटेक नामक संस्थामार्फत उप्रेतीले एक्लै खुरबुजा खेतीबाट लाखौँ आर्जन गरेको देखेर सिको गर्दै उनका छिमेकीहरुले यस वर्ष खरबुजा खेती गरेका हुन् । उप्रेतीका अनुसार टोलका एक दर्जन किसानले गरेको खरबुजा खेतीबाट ५० लाख आम्दानी भएको छ ।

 

डीएण्डडी वायो प्लानटेक नामक संस्थाबाटै टोलवासीले खरबुजाको बिरुवा लगेर आफ्ना बारीमा रोपेका थिए । विगतमा मकैखेती हुने गरेको जग्गामा यसपालि खरबुजा लहराएको थियो । किसानलाई प्राविधिक सहयोगसमेत उप्रेतीले नै प्रदान गरेका थिए ।

 

रोपेको ९० दिनमै खरबुजा फल्छ । गत वर्ष प्रतिकेजी ५० मा बिक्री भएको खरबुजा यसपालि बन्दाबन्दीका कारण प्रतिकेजी ३० मा बिक्री गर्नुपरेको थियो । तैपनि किसान नाफामै रहे ।

 

बन्दाबन्दी नभइदिएको भए खरबुजाबाट दोब्बर आम्दानी हुने किसानको भनाइ छ । उनीहरुले उत्पादन गरेको खरबुजा झापाबाहिर इटहरी, धरान र विराटनगरमा बिक्री भएको थियो ।

 

उप्रेतीले यस वर्ष ६० हजार खरबुजाको बिरुवा बिक्री गरेका थिए । उनको नर्सरीमा उत्पादित खरबुजाको बिरुवा चितवन, बारा, सिरहा, नवलपरासीलगायतका जिल्लाका किसानले खरिद गरेर लगेका थिए ।रासस

लकडाउनमा खानी चलाउन नदिँदा भारतबाट क्लिङकर ल्याउनु पर्ने अवस्था Read Previous

लकडाउनमा खानी चलाउन नदिँदा भारतबाट क्लिङकर ल्याउनु पर्ने अवस्था

सरकारले दोस्रोपटक घटायो उद्धार उडानको भाडा, कहाँको कति (सूचीसहित) Read Next

सरकारले दोस्रोपटक घटायो उद्धार उडानको भाडा, कहाँको कति (सूचीसहित)