काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धारका लागि तोकेका हवाई भाडा फेरि घटाएको छ ।
चार्टर उडान भाडा चार गुणा भन्दा बढी महँगो भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले शनिबार पुनः भाडा घटाएको हो । यसअघि सरकारले शुक्रबार करिब १० प्रतिशत भाडा तोकेको थियो ।
सरकारले यसपटक प्रमुख श्रम गन्तव्य साउदी,कुवेत मलेसिया लगायतका देशबाट आउने नेपालीहरूका लागि हवाई भाडा घटाएको हो ।
दुई पटक गरेर सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ । नयाँभाडादर अनुसार अब मलेसियाको भाडा ४६५ डलरबाट घटेर ३७२ डलर निर्धारण भएको छ।
त्यसैगरी दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अब ३९२ डलर कायम भएको छ । दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ । यसअघि यस्तो खर्च ४५० डलर थियो ।
साउदी अरबको दमामबाट आउनका लागि १०० डलर भाडा घटाइएको छ। अहिले ४३० डलर तोकिएको छ। साउदीको जेहादको भाडा ५९० डलर तोकिएको छ।
यसअगाडि ६९० डलर रहेको थियो। साउदीको रियादको भाडादर अहिले ४६५ डलर कायम भएको छ। पहिला ५६५ डलर थियो।
ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । बहराइनबाट फर्किने यात्रुले ३९२ डलरमा नेपाल एयरलाइन्सको टिकट पाउने छन् । यसअघि बहराइनबाट फर्किने भाडादर ४९० डलर तोकिएको थियो ।
कुवेतको भाडा ५१० डलरबाट ४१० मा झार्ने सहमति भएको छ । जोर्डनको भाडा ७७५ बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलरमा झारिएको छ ।
