चितवनमा पहिलोपटक जडीबुटी तेल प्रशोधन उद्योग स्थापना भएको छ । जिल्ला जडीबुटी सहकारी सङ्घले रत्ननगर नगरपालिका–११ मङ्गलपुरमा उद्योग स्थापना गरेको हो ।
उद्योगको बिहीबार वाग्मती प्रदेशका सांसद कृष्ण खनालले उद्घाटन गरे । करिब ४० लाखको लगानीमा स्थापना गरिएको उद्योगले वनस्पतिबाट निस्कने सबै तेल उत्पादन गर्ने जिल्ला जडीबुटी सहकारी सङ्घका अध्यक्ष कुलप्रसाद देवकोटाले जानकारी दिए ।
उद्योगमा प्रशोधन मेसिनसँगै सङ्कलन केन्द्र स्थापना गरिएको छ । उद्योग नहुँदा चितवनमा उत्पादन भएको जडीबुटी बारा जिल्लामा निर्यात गरिएको थियो । उद्योग स्थापनापश्चात जिल्लामा वार्षिक २ हजार लिटर तेल उत्पादन गरिने अध्यक्ष देवकोटाले बताए ।
उद्योग स्थापनाका लागि केन्द्रीय वन विभागले ३ लाख ६० हजार सहयोग गरेको छ । अन्य रकम सहकारी आफैँले उठाएका छन् । चितवनमा ५० किसान जडीबुटी खेतीमा आबद्ध छन् । कतिपय सहकारी आफैँले पनि जडीबुटी खेती गरेका छन् ।
भरतपुर र रत्ननगरका विभिन्न क्षेत्र, सामुदायिक वन र कवुलियती वनमा जडीबुटी खेती गरिएको छ । चितवनमा मेन्था, सिटोमेला, क्यामामाइल, लेमन ग्रास, तितेपाती लगायतका जडीबुटी उत्पादन हुने गरेको छ । एउटै सिजनमा मेन्था १० टन, सिटोमेला ३० टन उत्पादन भएको जडीबुटी सङ्घले जनाएको छ । रासस