काठमाडौं । कोरोना बीमा अन्तर्गत पहिलो पटक संक्रमितलाई दाबी भुक्तानी गरिएको छ ।
नेको इन्स्योरेन्सले कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि शुक्रबार उनलाई बीमा बापतको भुक्तानी दिएको हो ।
बैंकको शाखा कार्यालय पुर्कोटदह, गुल्मीमा कार्यरत एक कर्मचारीमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए पछि उनले भुक्तानीका लागि दाबी गरेका थिए । दाबी आएसँगै नेकोले उनलाई १ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
बीमा समितिले बैशाख ४ गतेदेखि कोरोना बीमा पोलीसी विक्रीमा ल्याएको थियो । अहिलेसम्म कोरोना बीमा गर्ने करिब साढे ३ लाखभन्दा बढी बीमित मध्ये भुक्तानी दाबी गरिएको यो पहिलो पटक हो ।
कोरोना बीमा अन्तर्गत १ हजार रुपैयाँमा १ लाख रुपैयाँको र ५०० रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था छ ।
सामूहिक बीमा गर्दा भने १ लाख रुपैयाँका लागि प्रतिव्यक्ति ६०० र ५० हजार रुपैयाँका लागि ३०० रुपैयाँ तिर्नुपर्छ । बीमाको अवधि १ वर्षको हुनेछ ।
बीमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी हुने व्यवस्था छ ।