प्रदेश २ सरकारले किसानको खातामा सीधै १० हजार नगद हालिदिने

प्रदेश नम्बर २ सरकारले किसानहरुको खातामा सीधै १० हजार रुपैयाँ हालिदिने भएको छ । प्रदेश सरकारले कोरोना भाइरसको महामारीका कारण थलिएका किसानहरुलाई राहत स्वरुप उनीहरुको खातामा १० हजार रुपैयाँ हाल्न लागेको हो ।

 

सरकारले ल्याएको नीति तथा कार्यक्रममा यो विषय उल्लेख गरिएको र आगामी असार १ गते आउने बजेटमा पैसा वितरणको मोडालिटी आउने प्रदेश सरकारका अर्थमन्त्री विजय यादवले बताए ।

 

‘अबको बजेटले पैसा वितरणको मोडालिटी बनाएर जिल्ला र पालीकाहरुलाई बजेट पठाइनेछ र उनीहरुले पैसा वितरण गर्नेछन्,’ अर्थमन्त्री यादवले चाणक्य पोष्टसँग भने । साथै, प्रदेश सरकारले जमिन चक्लाबन्दी गर्ने र किसानहरुलाई जग्गाको भाडा दिने योजना पनि ल्याउने भएको छ ।

 

अहिले कोरोना भाइरसको महामारीको कारणले देशभरीका किसानहरु मारमा परेका छन् । उनीहरुको उत्पादनले उचित बजार नपाएका कारण उनीहरु मारमा परेका हुन् । यस्तो अवस्थालाई ध्यानमा राखी प्रदेश २ सरकारले किसानलाई राहत दिनका लागि यस्ता कार्यक्रमहरु ल्याउन लागेको अर्थमन्त्री यादवले बताए ।

 

प्रदेश सरकारले यस्ता राहतका कार्यक्रमहरु ल्याउँदै गर्दा संघीय सरकारले भने किसानलाई प्रत्यक्ष र तत्काल राहत हुने ठोस कार्यक्रम अझै ल्याएको छैन ।

कोरोना भाइरसले ल्यायो पारले-जी बिस्कुटको बिक्रीमा उछाल, ८२ वर्ष यताकै धेरै बिक्री Read Previous

कोरोना भाइरसले ल्यायो पारले-जी बिस्कुटको बिक्रीमा उछाल, ८२ वर्ष यताकै धेरै बिक्री

साढे ३ लाख बढीले गरेको कोरोना बीमामा पहिलो पटक पर्‍यो दाबी भुक्तानी, बीमितले पाए १ लाख Read Next

साढे ३ लाख बढीले गरेको कोरोना बीमामा पहिलो पटक पर्‍यो दाबी भुक्तानी, बीमितले पाए १ लाख