काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अधिकांश उपभोग्य वस्तुको मागमा कमी आए पनि पारले-जी बिस्कुट माग भने ह्वात्तै बढ्न पुुगेको छ ।
कोरोना भाइरसका कारण अधिकांश व्यापार, व्यावसाय चौपट भए पनि पारले–जी बिस्कुटको बिक्रीमा उछाल आएको छ ।
लकडाउन यता यसको बिक्रीले नयाँ रेकर्ड बनाएको छ । सन् १९३८ देखि नै भारतीय उपभोक्ताका लागि लोकप्रिय ब्रान्ड बन्दै आएको बिस्कुट यो वर्षको मार्च, अप्रिल र मे महिना बिक्रीका हिसाबले बितेको ८२ वर्ष कै सबैभन्दा उत्तम महिना भएको उल्लेख गरेको छ।
भारतमा केवल ५ रुपैयाँमात्रै पर्ने बिस्कुट लकडाउनका बेला ठूला सहरबाट गाउँ फर्किरहेका प्रवासी मजदुुरलाई ठूलो मात्रामा बाँडिएको थियो। पारले–जीको भारतमा १३० वटा कारखाना छन्।
भारतीय बजारमा हुने कुल बिस्कुटको बिक्रीमा पारले-जीले ५० प्रतिशत हिस्सा ओगटेको छ। कयौँ व्यक्तिका बिस्कुुटलाई नै लन्च, डिनर र नास्ताको रुपमा नै काम चलाएका थिए ।
यसका साथै भारतका कयौँ परोपकारी संस्था, एनजीओ र आईएनजीओहरुले पनि आवश्यक परेकाहरुलाई आद्य सामग्रीका रुपमा पारले–जी बिस्कुुट प्रदान गरेका थिए।
कम्पनीले २५ मार्चबाट निरन्तर रुपमा बिस्कुट उत्पादन गरिरहेको जनाएको छ। यस क्रममा पारले–जीमात्रै नभई भारतका अन्य बिस्कुुट ब्रान्डहरु जस्तै ब्रिटानियाको गुुड डे, टाइगर, जस्ता अन्य बिस्कुटको बिक्री पनि धेरै बढेको थियो।