काठमाडौं । लकडाउनको अवधिमा विदेशी लगानीका ७ वटा उद्योग दर्ता भएका छन् ।
उद्योग विभागको तथ्यांक अनुसारचैत ११ गतेदेखि हालसम्मको अवधिमा ५० करोड लगानी प्रस्ताव बराबरका उक्त उद्योग दर्ता भएका हुन् । जसमा सेवा क्षेत्रका ५ वटा र पर्यटन क्षेत्रसँग सम्बन्धित २ वटा उद्योग दर्ता भएका छन् ।
विभागका अनुसार यस अवधिमा चीनले ४ वटा उद्योगका लागि लगानी प्रस्ताव गरेको हो । जसमा २ वटा कार्गो सर्भिस उद्योग र १.१ वटा निर्माण उद्योग तथा होटलमा लगानीका लागि प्रस्ताव गरेको हो ।
चीनले भक्तपुरमा निर्माण उद्योग सञ्चालनका लागि लगानी १० करोड लगानी प्रस्ताव गरेको हो । यस्तै, होटल सञ्चालनका लागि ५ करोड र काठमाडौंका २ स्थानमा कार्गो उद्योग सञ्चालनका लागि १०/१० करोड लगानीमा प्रस्ताव गरेको छ ।
यस्तै नेदरल्याण्डले ललितपुरमा ट्रेनिङ तथा कौशल तालिम उद्योगका लागि ५ करोड, मलेसियाले सुनसरीमा रेष्टुरेन्ट सञ्चालन गर्न ५ करोड र भारतले काठमाडौंमा कार्गो उद्योग सञ्चालनका लागि ५ करोड वैदेशिक लगानी प्रस्ताव गरेको छ ।
लकडाउन यता ८ वटा स्वदेशी र ७ वटा विदेशी लगानीका १५ वटा उद्योग दर्ता भएका छन् । जसमा २ अर्ब ३ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । यी उद्योगहरु संचालनमा आएपछि ४४१ जनाले रोजगारी पाउनेछन् ।