‘न्यु नर्मल’मा नयाँ रणनीतिहरु ल्याउनु पर्छ, लगानी याेग्य पूँजी प्रशस्त छ : सुनिलकुमार पोखरेलको विचार
सुनिलकुमार पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत, सिभिल बैंक
सुनिल कुमार पोखरेल
प्रकाशित : 8:30 am, बुधबार, जेठ २८, २०७७

बैंकिङ क्षेत्रको अहिलेको अवस्था भनेको सुस्त अवस्था हो । मानिसहरु बाहिरबाट हेर्दा ठप्प नै छ की भनेजस्तो सोच्छन् तर त्यस्तो छैन । स्वभावीक रुपमा कारोबार केही सुस्त भने पक्कै पनि छ । नयाँ व्यवसाय आएको छैन । साथै, खुसीको कुरा के छ भने कारोबार विस्तारै बढ्न थालेको छ, पछिल्ला तीन चार हप्तामा । बैंकमा ग्राहकहरुको संख्या पनि क्रमशः बढ्दै जान थालेको छ ।

 

मानिसहरुमा आत्मविश्वास बढ्दै गएको छ । विल्कुल नयाँ व्यवसायहरु नआए पनि पुरानैमा केही बढोत्तरी देखिन थालेको छ । एलसीको संख्या बढ्न थालेको छ । लकडानका शुरुवाती दिनहरुमा त चरोमुसो नै नभएको अवस्था थियो । हाम्रो पनि कामै नभए जस्तो भएको थियो ।

 

अब हामी बिस्तारै बैंकलाई कसरी पुरानै अवस्थामा लैजाने भन्नेतर्फ सोच्न थालेका छौं । यसका लागि केही सञ्चालन, प्राविधिक र वित्तीय सम्बन्धी जटिलताहरु छन् । हामी अब कसरी ‘न्यु नर्मल’ तर्फ जाने भन्ने सोचिरहेका छौं । कर्मचारीहरुलाई कसरी दूरीमा राखेर काम गराउने, कम कर्मचारीबाट कसरी धेरै काम गराउने भन्ने हाम्रा चुनौती हुन् ।

 

यो समयमा मानिसहरुको बचत पनि बढेको, विशेष गरी मध्यम वर्गको । उनीहरुले खर्च गर्न पाएका छैनन् । लकडाउन पछि उनीहरुले ह्वात्तै आफ्नो खर्च बढाउँदा अर्थतन्त्र चलायमान भइहाल्छ जस्तो लाग्छ मलाई । हामी पूर्वीय क्षेत्रका मानिसहरु बचत गर्छौं । अमेरिका लगायत पश्चिमा देशहरुमा उति बचत गर्दैनन् । उनीहरु क्रेडिटमा बाँच्छन् ।

 

स्वचालित प्रक्रियामा बैंकिङलाई कसरी लैजाने भन्ने पनि हाम्रो चासो हो । डिजिटल बैंकिङ भनेको खाली मोबाइल बैंकिङ मात्र होइन, स्वचालित प्रक्रिया पनि हो । अब मुद्दति खाता नवीकरण गर्न पनि बैंकमै आउने प्रक्रिया कसरी हटाउने भन्ने हाम्रो चासो हो र हुनुपर्छ । यसमा सकारात्मक संकेतहरु देखिएका पनि छन् ।

 

बैंकिङमा मोबाइलको प्रयोग धेरै बढेको पनि छ । कम्तीमा कारोबार डिजिटल गर्न सकिन्छ अब । डिजिटल अर्थतन्त्रकै कुरा भने अलि लामो र टाढाको विषय भयो । यसका लागि उचित प्रविधिको विकास र प्रयोग चाहिँ चुनौती हो किनभने समस्या त हठात आयो नि । पूर्व निर्धारित कार्यक्रम त होइन यो ।

 

भौतिक रुपमा बैंकिङ सञ्चालनको लागि चाहिँ त्यति धेरै समस्या छैन । ‘लजिस्टिक्स’को केही समस्या छ तर पूर्ण रुपमा बैंकिङ सञ्चालनमा आउने भन्ने कुरा अझै केही समय लाग्ने हुनाले ‘लजिस्टिक्स’ विस्तारै मिलाउँदै लैजान सकिन्छ ।

 

बैंक सञ्चालनको सन्दर्भ उठ्दा अब धेरै कर्मचारीहरु निकालिने हुन् की भन्ने कुराहरु बाहिर आएको मैले सुनेको छु । अस्थायी कर्मचारीहरुसँगको सम्झौता अब बैंकले नवीकरण गर्दैन कि भन्ने मानिसहरुको शंका छ । तर, त्यस्तो अवस्था अहिले आएको जस्तो लाग्दैन । केही करार कर्मचारीहरुको सम्झौता लकडाउनको समयका सकिएको हुँदा नवीकरण नभएको हुनसक्छ । सबै अस्थायी कर्मचारीहरुलाई घर पठाउने, सम्झौता नवीकरण नगर्ने अवस्था आएको जस्तो लाग्दैन ।

 

बैंक सामान्य ढंगले सञ्चालन गर्नका लागि अर्को महत्वपूर्ण पाटो भनेको लगानी योग्य पूँजीको उपलब्धता हो । केही समय रेमिट्यान्स घटेका हुनाले बैंकमा निक्षेप घट्यो कि भन्ने कुरा पनि छन् । अब विस्तारै याे भाइरसको प्रभावबाट बाहिर निस्कँदै गर्दा ह्वात्तै कर्जाको माग हुन सक्छ, व्यवसायलाई सामान्य ढंगमा सञ्चालनमा ल्याउनका लागि ।

 

अहिले सामान्य ढंगले हेर्दा बैंकहरुको औसत सीसीडी अनुपात ७४ प्रतिशतको हाराहारीमा रहेको अवस्था हो । यो भनेको ऋण लगानी गर्नका लागि राम्रै ठाउँ छ । अनि अर्थतन्त्रले एकैपटक गति लिने पनि होइन । आगामी आर्थिक वर्षको दोस्रो त्रैमासदेखि मात्र अर्थतन्त्रले गति लिन्छ जस्तो मलाई लाग्छ । अर्को आर्थिक वर्षको पहिलो त्रैमास पनि सुस्त नै होला ।

 

रेमिट्यान्स पनि खत्तमै होला भन्ने म मान्दिन । यूएई खुलिसकेको अवस्था छ । त्यहाँ बिजनेश मलदेखि अधिकांश व्यापार, व्यवसाय खुल्न थालेका छन् । कच्चा तेलको मूल्य पनि ३८ डलर पुगिसकेको छ । कुनै समय त तेलको मूल्य नेगेटीभ नै थियो नि । तर, अब विस्तारै माग बढ्दै जान थालेको छ ।

अमेरिकाको उदाहरणले पनि अर्थतन्त्र चलायमा हुन थालेको देखाउँछ । त्यहाँ करिब २५ लाख मानिसले रोजगारी पाएका छन् यो महिना । विश्वका प्रमुख सेयर बजारहरु पनि बढ्न थालेका छन् । सेयर बजार भनेको त भविष्यको लगानी हो । सेयर बजार बढ्नु भनेको मानिसहरु भविष्य प्रति आशावादी हुनु हो ।

 

यो समयमा मानिसहरुको बचत पनि बढेको, विशेष गरी मध्यम वर्गको । उनीहरुले खर्च गर्न पाएका छैनन् । लकडाउन पछि उनीहरुले ह्वात्तै आफ्नो खर्च बढाउँदा अर्थतन्त्र चलायमान भइहाल्छ जस्तो लाग्छ मलाई । हामी पूर्वीय क्षेत्रका मानिसहरु बचत गर्छौं । अमेरिका लगायत पश्चिमा देशहरुमा उति बचत गर्दैनन् । उनीहरु क्रेडिटमा बाँच्छन् ।

 

अब यो झण्डै ३ महिनाको लकडाउने बैंकहरुलाई केही असर त पक्कै पारिहाल्छ । यो त्रैमास त स्थिर नै भयो । २ प्रतिशतको ब्याज छुटले पनि नाफा उल्लेख्य घटाउने देखेको छु मैले ।

 

अर्को कुरा नयाँ काम नभएपछि बैंकहरुको आम्दानीका स्रोत फी र कमिशन शून्य हुन्छ । त्यसले पनि बैंकहरुको नाफामा ठूलो असर पार्छ नै । ‘ओभरहेड’ खर्चहरु पनि घटेका छैनन् । तलब पनि खुवाउनै पर्यो । ब्याज आम्दानी नगरेको पनि होइन त्यसैले नाफा नै ऋणात्मक भने नहोला । हामी पहिले धेरै नै खराब अवस्था आउँछ कि भनेर आत्तिएका थियौं । अनिश्चितताको धेरै भय थियो । अब त्यो धेरै घट्दै गएको छ ।

 

हामीले यो महामारीले कुनै बैंक डुबे भनेको अहिलेसम्म सुनेका छैनौं । बरु सन् २००८ को आर्थिक मन्दीमा बैंकहरु डुबेका थिए । हाम्रो बैंकिङ क्षेत्र पनि सुरक्षित नै छ ।

 

पर्यटकीय क्षेत्रहरु स्वभाविक रुपमै अप्ठेरोमा परेका छन् । यस्ता कम्पनीहरु र क्षेत्रहरुलाई बैंकहरुले सहयोग गर्नैपर्छ । बैंकहरुले केही सहयोग गरे तिनीहरुको पुनरुत्थान हुन्छ जस्तो लाग्छ मलाई । यी कम्पनीहरु पूँजी केन्द्रित भएकाले केही तनाव भएको हो । तर, उनीहरु पनि सामान्यतर्फ फर्कन्छन् भन्ने मेरो विश्वास छ । उहाँहरुले आफ्नो व्यवसायीक मोडलमा केही परिर्वतन भने गर्नुपर्ला । केही सृजनशीलता देखाउनु पर्ला ।

 

पक्कै पनि केही क्षेत्रलाई धेरै प्रभाव परेको छ । एयरलाइन्स र होटललाई धेरै गाह्रो भएको छ । विभिन्न एयरलाइन्सले धेरै गुमाएका छन् । उनीहरु धेरै पूँजी लगानी गरेर बनाइएका कम्पनीहरु हुन् । अनि सामाजिक दूरी कायम गरेर एयरलाइन्स चलाउँदा नाफा नहुन सक्छ । नाफा नभएर भाडा बढाए मानिसहरु नचढ्न सक्छन् ।

 

तर, यो क्षेत्रले पनि सन् २०२१ मा छलाङ लगाउन सक्छ । विभिन्न अध्ययनहरुले यो क्षेत्र बुम हुन्छ भनिरहेका छन् । मानिसहरु घर बाहिर निस्कन नपाएर निसास्सिरहेका छन् । उनीहरु एकैपटक निस्कन सक्छन् । भ्याक्सिन आएपछि उछाल आउन सक्छ यो क्षेत्रमा । अहिले पनि विभिन्न मुलुकका मानिसहरु समुद्री किनारमा कति रमाइलो मानेर दौडिरहेका देखिन्छन्, लकडाउन खोले लगत्तै ।

 

नेपालमा पनि अबको आर्थिक वर्ष केही सम्हालिन्छ र अर्को आर्थिक वर्ष राम्रो आर्थिक वृद्धि हुन्छ जस्तो लाग्छ । बैंकहरुको नाफा पनि त्यही अनुसार नै बढ्ला ।

 

बैंकहरुको खराब कर्जा बढ्ला कि भन्ने चासो पनि सरोकारवालाको छ । ‘स्ट्रेस’मा आएका कम्पनीहरु पनि छन् । पर्यटकीय क्षेत्रहरु स्वभाविक रुपमै अप्ठेरोमा परेका छन् । यस्ता कम्पनीहरु र क्षेत्रहरुलाई बैंकहरुले सहयोग गर्नैपर्छ । बैंकहरुले केही सहयोग गरे तिनीहरुको पुनरुत्थान हुन्छ जस्तो लाग्छ मलाई । यी कम्पनीहरु पूँजी केन्द्रित भएकाले केही तनाव भएको हो । तर, उनीहरु पनि सामान्यतर्फ फर्कन्छन् भन्ने मेरो विश्वास छ । उहाँहरुले आफ्नो व्यवसायीक मोडलमा केही परिर्वतन भने गर्नुपर्ला । केही सृजनशीलता देखाउनु पर्ला ।

विदेशमा कतिपय रेष्टुरेन्टहरुले कुपनहरु बाँडेका छन् । उनीहरुले अफरले उदाहरणका लागि आज २० डलरको कुपन किन्याे भने पछि ३० डलर बराबरको खाना खान पाइने भन्ने छ ।

 

व्यवसायका यस्ता नयाँ मोडलरु भने अपनाउन जरुरी छ । यत्रो ठूलो उथलपुथल पछि केही आधारभूत परिर्वतनहरु नआउने भन्ने हुँदैन । परिर्वतनहरु आउँछन् । त्यसैलाई ‘न्यु नर्मल’ भनिएको छ । ‘न्यु नर्मल’मा नयाँ रणनीतिहरु ल्याउनु पर्यो । तर, समग्रमा भन्दा म भविष्य प्रति आशावादी नै छु । भविष्य धेरैे खराब छैन । नेपालको वित्तीय क्षेत्र र आर्थिक क्षेत्र प्रति पनि म आशावादी नै छु ।