काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चन्डीराज ढकालविरुद्ध महासंघको पदाधिकारी बैठकले खेद प्रस्ताव पारित गरेको भन्ने विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार बारे महासंघकै पदाधिकारीहरुले अध्यक्ष भवानी राणाको ध्यानाकर्षण गराएका छन् ।
महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठ तथा कोषाध्यक्ष निरक केसीले विभिन्न सञ्चारमाध्यममा आएको समाचारले आफूहरुलाई गम्भीर बनाएकोे बताएका छन् ।
पदाधिकारी बैठकको एजेन्डामा नै नरहेको उक्त विषयमा बैठकले सर्वसम्मतरुपमा खेद प्रस्ताव पारित गरेको भन्ने समाचारले महासंघको गरिमा र प्रतिष्ठामा आँच पुर्याउने र महासंघलाई नै झन कमजोर बनाएको महशुस भएको उनीहरुले बताएका छन् ।
त्यस्तै उनीहरुले यस्ता गम्भीर विषयहरुमा छलफल गर्दा पदाधिकारी, सचिवालय तथा कार्यसमितिको एजेण्डामा ल्याउनुपर्ने र सबैको सहमतिमा मात्र अगाडि बढाउनुपर्ने हुनाले बैठकमा प्रयाप्त छलफल गरेर मात्र अगाडि बढ्न आग्रहसमेत गरेका छन् ।