दोस्रो बजारको संरचनात्मक सुधार र पहुँच विस्तार नै अबको प्राथमिकता : भिष्मराज ढुंगाना

विश्वव्यापीरुपमा देखिएको कारोना भाइरसको महामारीकाबाट सृजित यस विषम परिस्थितिका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ । यसबाट नेपालको अर्थतन्त्र र पूँजी बजार समेत अछुतो छैन । विगत केही वर्षदेखि नेपालले निरन्तर रुपमा हासिल गर्दै आएको उच्च आर्थिक वृद्धिदर कोरोना रोगको संक्रमण जोखिमका कारण यस वर्ष २.३ प्रतिशतमा सिमित हुने तथा पर्यटन, यातायात, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा संकुचन आउने अनुमान छ ।

 

कोभिड-१९ को महामारीले विश्व धितोपत्र बजारसमेत प्रभावित भएको छ । कोराना संक्रमणको शुरुवाती चरणमा अमेरिकाको डाउ जोन्स इन्डष्ट्रियल एभरेज इन्डेक्स २०२० को मध्य फेब्रुअरीबाट मध्य मार्चको बीचमा उच्च अंकले गिरावट आई २०१६ डिसेम्बर यताकै सबैभन्दा कम विन्दुमा पुगेको थियो ।

 

यस्तै एस एण्ड पी ५०० इन्डेक्समा करीब ३३ प्रतिशत, जापानको निक्की २२५ इन्डेक्स २९.५ प्रतिशत, बेलायतको फुटसे १०० इन्डेक्स करीब ३३ प्रतिशत, भारतको बीएसई सेनसेक्स र निफ्टी ५० मा करीब ३७ प्रतिशतको गिरावट आएको थियो ।

 

विशेष लगानी तथा पूँजी परिचालन अवसरका लागि भेञ्चर क्यापिटल तथा प्राइभेट इक्वीटी संचालन अनुमति दिने र वस्तु विनिमय बजार सञ्चालनका लागि इच्छुक कम्पनीहरुलाई कम्पनी स्थापनाका लागि पूर्व स्वीकृति दिने प्रकृया समेत बोर्डले अगाडि बढाएको छ ।

 

यद्यपि मे महिनाको अन्तिम सातासम्म आइपुग्दा प्रायजसो धितोपत्र बजारहरुमा औसतमा २० प्रतिशतको हाराहारीमा सुधार देखिएको छ । यस बीचमा अत्यावश्यक सेवा बाहेकका अरु कार्यहरु बन्द गर्ने र बन्दाबन्दीका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार बन्द गर्नु पर्ने अवस्था सृजना भएकोमा अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कारोबारमा केही थप व्यवस्थाहरु गरी बजार संचालन गरिएकोमा उक्त बजार दुई दिन मात्र संचालन हुन सकेको र नेप्से इन्डेक्स १२०१ बिन्दूमा रहेको अवस्था छ ।

 

बन्दाबन्दीमा कारोबार

 

यसरी बजार संचालनकै समयमा नेपालमा कोरोनाको संक्रमण बढ्न थालेकाले लगानीकर्ताहरुको बजार पँहुच सहज हुन नसकेको र बहुमत लगानीकर्ताहरु अनलाईन कारोबारमा आवद्ध हुन नसकेकोले सरकारसँगको समन्वयमा पुनः लकडाउन अवधिभरका लागि दोस्रो बजार कारोबार बन्द गरिएको हो । यद्यपि यो अवस्थालाई लामो अवधिसम्म जान दिनु हुँदैन भन्नेमा हामी सचेत छौं र सम्बद्ध पक्ष नेप्से, सीडीएससी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर लगायत लगानीकर्ताहरुसँग के कसरी सहजरुपमा कारोवार सञ्चालन गर्ने भन्ने विषयमा धितोपत्र बोर्ड छलफलमा छ ।

 

चालू आर्थिक वर्षको दश महिनामा धितोपत्रको प्राथमिक बजारमा प्राथमिक, हकप्रद सेयर, ऋणपत्र तथा सामूहिक लगानी योजना समेत गरी ३० वटा निष्काशन मार्फत ३० अर्ब ८९ करोड रुपैयाँको पूँजी परिचालन भएको छ भने धितोपत्रको दोस्रो बजारमा १ खर्ब ३८ अर्ब ८१ करोडको धितोपत्र कारोवार भई बजार पूँजीकरण मूल्य १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको छ ।

 

यस अवधिमा धितोपत्र बजारलाई पूर्ण स्वचालित बनाउने प्रयासहरु समेत अगाडि बढाइएको छ र हाल धितोपत्रको डिम्याट खातामा आबद्ध हुने लगानीकर्ताहरुको कुल संख्या १६ लाख ६० हजार पुगी देशको धितोपत्र बजारमा सहभागी हुने लगानीकर्ताहरुको संख्या कुल जनसंख्याको ५.४ प्रतिशत पुगेको छ । बजारबाट सरकारलाई अन्य करहरुका अतिरिक्त पूँजीगत लाभकर वापत ८८ करोड ८३ लाख राजस्व प्राप्त भएको छ ।

 

७७ जिल्लामा प्राथमिक बजार

 

यस आर्थिक वर्षमा पुँजी बजारमा महत्वपूर्ण सुधार तथा विकासका कार्यहरु भएका छन् । पछिल्लो समयमा धितोपत्रको प्राथमिक निष्कासनमा आस्वा र सी-आस्वा पद्धतिको अवलम्बन गरिए पश्चात् डिम्याट खाता खोली सी–आस्वा नम्बर लिएका लगानीकर्ताहरूले बोर्डबाट आस्वा सदस्यता लिएका कुल ६४ बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट ७ सय भन्दा बढी स्थानीय तहमा लगानीकर्तालाई आस्वा सेवामार्फत् सेयर आवेदन गर्न पाउने सुविधा उपलब्ध भई देशका ७७ जिल्लामा प्राथमिक बजारको पहुँच पुग्नुका साथै बजारमार्फत् दीर्घकालीन पूँजी परिचालन परिमाणमा बृद्धि भई नेपालमा समेत धितोपत्र बजारमार्फत् सार्क क्षेत्रका अन्य देश सरह पूँजी परिचालन कार्य भइरहेको छ ।

 

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्दै बजारलाई स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई आगामी आर्थिक वर्षमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउँदै लैजाने, बजार गतिविधिहरु तथा नियमन कार्यमा सूचना प्रविधिको उपयोग बढाई बजार तथा नियमन कार्यलाई प्रभावकारी बनाउने र बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने लक्ष्य लिएको छ ।

 

बोर्डले दोस्रो बजारको पहुँच समेत देशव्यापी विस्तार गर्न धितोपत्रको दोस्रो बजारको कारोबार प्रणालीलाई ग्राहकको बैंक खाता तथा डिम्याट खातासँग पूर्णरुपमा आवद्ध गर्ने र धितोपत्र दलाल व्यवसायीहरुको आधिकारिक प्रतिनिधिहरुको व्यवस्था गर्ने कार्य समेत अगाडि बढाएको छ ।

 

नीतिगत सुधार

 

यस आर्थिक वर्षमा धितोपत्र बजारको सुधार तथा विकास र धितोपत्र व्यावसायीहरुको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्य लिई हकप्रद सेयर निष्काशनसम्बन्धी व्यवस्था थप प्रभावकारी बनाउन, विदेशी लगानी भित्र्याउन सहजीकरण गर्न, खुलामुखी योजनाको प्रबद्र्धन तथा सामूहिक लगानी कोष संचालनलाई थप प्रभावकारी बनाउन, धितोपत्र व्यवसायीको स्वामित्व समबन्धी व्यवस्थामा स्पष्टता ल्याउन तथा पूँजी कोष सुदृढ गर्न, धितोपत्र व्यापारी (डिलर) को बजार प्रवेशलाई सहजीकरण गर्न धितोपत्र व्यवसायी, सामूहिक लगानी कोष र धितोपत्र दर्ता तथा निष्काशन नियमावलीहरुमा नेपाल सरकारको स्वीकृतिमा समसामयिक संशोधन गरी बोर्डले २०७६ फागुन १ गतेदेखि लागू गरेको छ ।

 

बोर्डले बढ्दो कार्य जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन गर्न बोर्डलाई आवश्यक जनशक्ति पदपूर्ति गर्ने कार्य अगाडि बढाउनुका साथै बोर्डलाई आफ्नै कार्यालय भवनको व्यवस्था गर्न आवश्यक रहेको जग्गा नेपाल सरकारसँग प्राप्त गर्ने सम्बन्धमा प्रकृया अगाडि बढाएको छ ।

 

यस आर्थिक वर्षको समिक्षा अवधिमा बोर्डले लगानीकर्ताहरुलाई लगानीका विभिन्न विकल्पहरु उपलब्ध गराउने उद्देश्य लिई सामूहिक लगानी कोषमा बन्दमुखी कोष सञ्चालन भइरहेकोमा खुलामुखी कोष सञ्चालन अनुमति दिने भएको छ ।

 

विशेष लगानी तथा पूँजी परिचालन अवसरका लागि भेञ्चर क्यापिटल तथा प्राइभेट इक्वीटी संचालन अनुमति दिने र वस्तु विनिमय बजार सञ्चालनका लागि इच्छुक कम्पनीहरुलाई कम्पनी स्थापनाका लागि पूर्व स्वीकृति दिने प्रकृया समेत बोर्डले अगाडि बढाएको छ ।

 

धितोपत्र बजार तथा वस्तु विनिमय बजारका मूल आधारको रूपमा रहेका लगानीकर्तालाई सचेत र जागरुक बनाउन लगानीकर्ता शिक्षालाई संस्थागत ढंगले अगाडि बढाउन बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार प्रशिक्षण प्रतिष्ठान खोल्ने सम्बन्धमा अध्ययन गर्ने कार्य गर्नुका साथै पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा पाक्षिक रेडियो कार्यक्रमलाई थप परिस्कृत गरी नियमितरुपमा सञ्चालन गर्दै आएको छ ।

 

बोर्डले चालू आर्थिक वर्षको समिक्षा अवधिमा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्न मार्जिन कारोबार सम्बन्धी कार्यविधि बनाई पेस गर्न नेप्से र धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिँदै सोसम्बन्धी नीतिगत व्यवस्थाहरु गरेको छ ।

 

आगामी कार्यदिशा

 

पछिल्लो समय बजारको विकास उलेखनीय रहेता पनि बजार नियमन तथा सुपरिवेक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने, पूँजी बजारमा सूचीकृत कम्पनी तथा लगानी उपकरणमा विविधता ल्याउन संस्थागत सुशासनको पक्षलाई सृदृढ गर्न, वित्तीय सक्षरता अभिवृद्धिका साथै वस्तु विनिमय बजारको प्रभावकारी नियमन गर्ने लगायतका चुनौतिहरु बोर्ड सामु रहेका छन् । ऋणपत्र बजार, ओटिसी बजारलाइ थप प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको छ ।

 

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण हाल सृजित विषम परिस्थितिबाट आर्थिक गतिविधिहरु शिथिल हुँदै गएको अवस्थामा दीर्घकालीन पूँजी उत्पादनशील क्षेत्रमा परिचालनको गतिशील माध्यमको रुपमा रहेको धितोपत्र बजार र कृषि उपज तथा अन्य विशेष वस्तु कारोवारको मूल्य निर्धारण तथा जोखिम व्यवस्थापनको माध्यमको रुपमा रहेको वस्तु विनिमय बजारको महत्व अझ बढ्दै गएको छ ।

 

यस प्ररिप्रेक्ष्यमा बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्दै बजारलाई स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई आगामी आर्थिक वर्षमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउँदै लैजाने, बजार गतिविधिहरु तथा नियमन कार्यमा सूचना प्रविधिको उपयोग बढाई बजार तथा नियमन कार्यलाई प्रभावकारी बनाउने र बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने लक्ष्य लिएको छ ।

 

साथै बजारसम्बन्धी आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापनको सुदृढ व्यवस्था गर्ने, बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने, दोस्रो बजारको संरचनात्मक सुधार गर्ने तथा यसको पहुँच देशव्यापी बनाउने कार्यमा आवश्यक सहजीकरण गर्ने जस्ता कार्य पनि प्राथमिकतामा छन् ।

 

त्यसैगरी, धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्य र नेपाल सरकारले हालै जारी गरेको आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रममा समावेश भएका सम्बन्धित कार्यक्रमहरुलाई प्राथमिकता सहित कार्यान्वयन गर्न आवश्यक तयारी अगाडि बढाइएको छ ।

 

(नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको मन्तव्यको संपादित अंश)

नेपालका ५६ वटा विद्यालयको पुनर्निर्माणमा भारतले ३ अर्ब सहयोग गर्ने Read Previous

नेपालका ५६ वटा विद्यालयको पुनर्निर्माणमा भारतले ३ अर्ब सहयोग गर्ने

खेद प्रस्ताव सम्बन्धी समाचारबारे महासंघ पदाधिकारीले गराए अध्यक्षको ध्यानाकर्षण Read Next

खेद प्रस्ताव सम्बन्धी समाचारबारे महासंघ पदाधिकारीले गराए अध्यक्षको ध्यानाकर्षण