काठमडौं। नेपालस्थित भारतीय दूतावासले नेपालका ५६ वटा विद्यालयको पुनर्निर्माणमा करिब ३ अर्ब सहयोग गर्ने भएको छ ।
गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणमा भारतले २ अर्ब ९५ करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएको हो ।
दूतावास र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दूतावासले नेपाल सरकारका शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइसँग विभिन्न सातवटा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनर्निर्माणमा हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको समेत रहनेछन्।
भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने सम्झौतामा उल्लेख छ।