काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा वितरण हुने प्याक गरिएको पिउने पानी धमिलो भएको पाइएको छ । विगु मार्केटिङ प्रालि र हिमालयन वेभरेज प्रालिले वितरण गरेको पानीको भाडा कुच्चीएको, धमिलो र चुुहिएको हुनाले आवश्यक कारवाहीका लागि टेलिफोनमार्फ उजुरी खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई प्राप्त भएको थियो ।
विभागका अनुसार विगु मार्केटिङ प्रालि, नयाँ बानेश्वरका संचालक श्याम श्रेष्ठ र हिमालयन वेभरेज प्रालि ललितपुरका संचालक भरत बुढाथोकी विरुद्ध सिंह दरवारमा धमिलो पानी पठाएको भन्दै मुद्दा दायर गरिएको हो ।
यसरी प्रधानमन्त्री कार्यालयमा जाने पानीमा लापरवाही भेटिन्छ भने सर्वसाधनले खाने पानीमा झन लापरवाही हुन सक्ने विभागका प्रवक्ता मोहन महर्जनले बताए ।
उनले उपभोक्ताले कुनै दुषित खाद्य उपभोग गर्नु नपरोस भनेर लकडाउन कै समयमा समेत अनुगमन तथा कारवाही अघि बढाइएको बताए ।
लकडाउनको समयमा मात्र उपत्यका भित्र २१ स्थानमा अनुमगन गरिएको विभागको भनाई छ ।
मर्हजनले लकडाउन अवधिमा पनि देशभरका विभिन्न स्थानहरुबाट अनुमगन भइरहेको जानकारी दिए ।
लकडाउन अवधिमा अनुगमनका क्रममा दुग्ध जन्य वस्तु, खाद्य वस्तु लगायतका सामग्रीमा अनुमन तथा नमुना परीक्षण गरिएको विभागले जनाएको छ ।
झौखेल उच्च बेभरेज, स्वस्तिक बेभरेज, नन्दिकेस्वर बोटलिङ, खानेपानी प्रशोधित केन्द्रमा आवश्यक सुरक्षासहित राम्रोसँग काम भइरहेको विभागले जानाएको छ ।
आरती फुड् प्रडक्सन, कन्ट्री फुड्स, खाद्य उत्पादन केन्द्रमा अनुगमन गरिएको थियो । सो स्थानहरुमा माक्स, पन्जा लगायतका सुरक्षा साधनको व्यवस्था गरी काम भइरहेको विभागले जनाएको छ ।
त्यसैगरि सुजल डेरीमा अनुगमनका क्रममा सेनिटाइजर, माक्स, टोपिको व्यवस्था गरिएको पाइएको छ ।
यस्तै न्यूनस्तरको आटा विक्री वितरण गरेको भनि गुनासो प्राप्त भएर जय श्री प्रतिमा डेरीको खाद्य पसलको स्थलगत निरीक्षण गरिएको थियो ।
सो पसलबाट आटा २ थान, औपचारिक नमूना संकलन गरिएको थियो । उपभोक्ताले उक्त पसलबाट विक्री भएको आँटा चिप्लो र तन्किने खालको भएको गुनासो गरेका हुन् ।
उपत्यका बाहिर विराटनगरमा २८ स्थानमा अनुगमन तथा नमुना संकलनको काम गरिएको छ ।
जनकपुरमा ७ स्थानमा अनुगमन गरिनुका साथै हेटौडामा १२ स्थानमा अनुगमन गरिएको छ । भैरहवामा ११ स्थान, नेपालगञ्जमा १७ स्थान र धनगढीमा १४ स्थानमा लकडाउनको अवधिमा अनुगमन गरिएको हो ।