काठमाडौं । सेयर अभौतिकीकरण (डिम्याट) खाता खोल्नेको संख्या साढे १६ लाख नाघेको छ ।
सीडीएस एण्ड क्लिएरिङ लिमिटेडका अनुसार चालू आवको जेठ दोस्रो सातासम्म १६ लाख ५६ हजार २९७ जनाले डिम्याट खाता खोलेका छन् ।जसमा पुरुषको संख्या १० लाख १८ हजार ८३९ र महिलाको संख्या ६ लाख ३७ हजार ४५८ रहेका छन् ।
सीडीएसका अनुसार सबैभन्दा धेरै डिम्याट खाता बागमती (३नं.) प्रदेशमा खोलिएको छ । बागमती प्रदेशका ८ लाख ४० हजार ४४० वटा डिम्याट खाता खोलिएका छन् । यो कुल डिम्याट खाता संख्याको आधाभन्दा बढी हो ।

वित्तीय पहुँचमा पनि सबैभन्दा पछि रहेको कर्णाली प्रदेशमा सबैभन्दा कम २१ हजार ९२४ वटा खाता खोलिएका छन् । यो कुल खाता संख्याको जम्मा १.२३ प्रतिशत मात्र हो ।
यस्तै, प्रदेश १ मा २ लाख ७४ हजार ६७६, प्रदेश २ मा १ लाख २५ हजार ५०, प्रदेश ४ (गण्डकी) मा १ लाख ८१ हजार ८३१, प्रदेश ५ मा १ लाख ५९ हजार ४०२ र प्रदेश ७ (सुदूरपश्चिम) मा ५२ हजार ९७४ जनाले डिम्याट खाता खोलेका छन् ।
अहिले आइपीओ भर्न तथा दोस्रो बजारमा सेयर कारोबार गर्नका लागि समेत डिम्याट खाता अनिवार्य गरिएकाले पछिल्लो समय यस्तो खाता खोल्नेको संख्या बढ्दै गएको छ ।
धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका धितोपत्र ददाल, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, हस्तान्तरण प्रतिनिधिलगायत संघसंस्थाबाट यस्तो खाता खोल्न सकिन्छ ।