काठमाडौं । खानेपानी मन्त्री विना मगरले जनताको निराशा मेलम्ची खानेपानीले अन्त्य गर्ने समय आएको बताएकी छन् । उनले २ दशकदेखि निर्माणाधीन अवस्थामा रहेको मेलम्ची खाने पानीको भौतिक निर्माणको काम चालू आवमै सकिने बताएकी हुन् ।
संघीय संसदको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उनले आगामी आर्थिक वर्षभित्र वितरण प्रणाली समेत अगाडि बढाइने बताएकी छन् ।‘अब मेलम्ची खानेपानी निराशाको अन्त्यको समय आएको छ, चालू आवमै भौतिक निर्माण सकिनेछ, आगामी आवमा पानी वितरण गर्ने छौँ,’ मन्त्री मगरले भनिन् । मन्त्रालयले छिट्टै मेलम्ची खानेपानी वितरणको उद्घाटन समेत गर्ने उनले आश्वासन दिइन् ।
मेलम्ची खानेपानी अन्तर्गत केयूकेएलको क्षमता अन्तर्गत खानेपानी वितरण हुने छ भने त्यस बाहेकका क्षेत्रमा विगतका वितरण केन्द्रबाट पानी वितरण गरिने उनले बताइन् ।
२०४७ साल ताका परिकल्पना गरिएको यो आयोजना २०७६ सालमा आइपुग्दा समेत पूरा हुन सकेको छैन । नयाँ ठेक्का सम्झौता अनुसार मेलम्चीको शुरुङ निर्माण १२ महीना र ‘हेडवर्कस’ (पानी संकलन गर्ने ठाउँ) निर्माण १५ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजना शुरु भए पश्चात् दुई निर्माण कम्पनीले सम्पन्न गर्न नसकेपछि हाल यो काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सुम्पिएको हो । सिनो हाइड्रोले २०७६ असोज २४ मा ‘हेडवक्र्स’ निर्माणको ठेक्का सम्झौता गरी सोको निर्माण कार्य शुरु गरेको छ । चालू आवका लागि मेलम्चीमा ७ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु रिभरबाट सुन्दरीजलसम्म २६.५ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका भित्र्याउने योजना रहेको छ ।
आयोजनाको दोस्रो चरणमा याङ्ग्रस र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटरका दरले थप पानी काठमाडौं उपत्यका ल्याउने लक्ष्य रहेको छ ।