काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ६२ करोड बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनमा समग्र निर्जीवन बीमा बजार १६ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष कुल बीमा शुल्क २२ अर्ब ७ करोड रुपैयाँ संकलन भएको थियो । त्यसको तुलनमा गत वर्षको वृद्धि १६ प्रतिशतले भएको हो । हाल नेपाली निर्जीवन बीमा बजारमा २० वटा कम्पनीहरु संचालनमा रहेका छन् ।
विगतका वर्षहरु जस्तै यस वर्ष पनि सवैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । शिखरले ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४.१८ प्रतिशतले बढि हो ।
शिखरलाई पच्छाउँदै यस वर्ष पनि दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स रहेको छ । उसले कुल बीमा शुल्क २ अर्ब १७ करोड ९२ लाख आर्जन गर्न सफल भएको छ । सगरमाथाले अघिल्लो आर्थिक बर्षको भन्दा यस वर्ष ३४ करोड रुपैयाँले बीमा शुल्क बढाउन सफल भएको छ । जुन १८.५६ प्रतिशतले वृद्धि हो ।
तेस्रो स्थानमा नेको इन्स्योरेन्स आईपुगेको छ । कम्पनीले १ अर्ब ९६ करोड १७ लाख बीमा शुल्क संकलन गर्न सफल भएको छ । नेकोले कुल बीमा शुल्क संकलनमा सिद्धार्थ इन्स्योरेन्सलाई पछाडि पार्न सफल भएको हो ।

सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्ब ८६ करोड १७ लाख कुल बीमा शुल्क संकलन गरेको छ । त्यसैगरी बीमा शुल्कका आधारमा क्रमश एनएलजी, प्रिमियर र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी क्रमश पाँचौ, छैठौ र सातौँ स्थानमा रहेका छन् ।
अघिल्लो आर्थिक वर्षको दाँजोमा गत आर्थिक वर्षमा राष्ट्रिय बीमा कम्पनीले कुल बीमा शुल्क आर्जनमा सबैभन्दा धेरै प्रतिशतले वृद्धि गर्न सफल भएको छ । राष्ट्रिय बीमा कम्पनीले करिब ४२ करोड रुपैयाँ बढीले बीमा शुल्क संकलन गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको दाँजोमा करिब ४५ प्रतिशतले वृद्धि हो । राष्ट्रिय बीमा कम्पनीलाई पच्छाउदै एभरेष्ट र नेपाल इन्स्योरेन्स कम्पनीले क्रमश ३४ र ३३ प्रतिशतले बीमा शुल्क बढाएका छन् ।
गत आर्थिक वर्षमा प्रुडेन्सीयल र नेसनल इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा खराब प्रफर्मेन्स गरेका छन् । प्रुडेन्सीयलको कुल बीमा शुल्क आम्दानी अघिल्लो आर्थिक वर्षको भन्दा ९ प्रतिशतले घटेको छ ।
प्रुडेन्सीयलले अघिल्लो वर्षको भन्दा १२ करोड ३९ लाख कम बीमा शुल्क संकलन गरेको छ । गत वर्ष कम्पनीले १ अर्ब २४ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
त्यस्तै नेसनल इन्स्योरेन्सको पनि यस वर्षको कुल बीमा शुल्क आम्दानी २ करोड ७७ लाखले कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा ८७ करोड ७७ लाख आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा ८५ करोड मात्र बीमा शुल्क संकलन गरेको हो ।
त्यसैगरि कम व्यवसाय वृद्धि गर्नेमा क्रमश लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् । यिनिहरुको वृद्धि प्रतिशत क्रमश ०.१९, २.२७ र ४.५ मात्र रहेको छ ।

सबैभन्दा ठूलो बीमा कम्पनी शिखर इन्स्योरेन्सको पनि यस वर्ष वृद्धिदर रोकिएको छ । शिखरको अघिल्लो आर्थिक वर्षको दाँजोमा मात्र ४.१८ प्रतिशतले व्यवसाय बढेको हो ।
नयाँ कम्पनीको अवस्था
अघिल्लो आर्थिक वर्षको अन्त्यतिर स्थापना भएको अजोड इन्स्योरेन्सले ४१ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै गत आर्थिक वर्षदेखि मात्र संचालनमा आएका जनरल र सानिमा इन्स्योरेन्सले क्रमश ३३ करोड २४ लाख र १९ करोड ५८ लाखको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।