काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जेठ २५ गतेसम्म शनिबार पनि राजस्व संकलन गर्ने शाखा सञ्चालन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंक नियमन विभागले एक सूचना जारी गर्दै २०७६ फागुन र चैत महिनाको कर दाखिला गर्ने मिति जेठ २५ सम्म भएकाले उक्त मितिसम्म शनिबार पनि शाखा, काउन्टर तथा क्लियरिङ सम्बन्धी काम गर्ने सबै शाखा खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकको यो निर्देशनसँगै बैंकका राजस्व संकलन गर्ने शाखा २४ गते शनिबार समेत खोल्नुपर्ने भएको छ । साथै, राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस पनि पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।
‘गत फागुन र चैतको कर दाखिला गर्ने मिति २०७७ जेठ २५ सम्म तोकिएकाले सो मितिसम्म शनिबार लगायत जुनसुकै सार्वनजिक बिदामा समेत राजस्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण राजस्व संकलन शाखा एवम् बैंकको क्लियरिङ गर्ने काउन्टर, तथा नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन,’ सूचनामा भनिएको छ ।
यद्यपि सरकारले यसअघि तोकेको कर तिर्ने जेठ २५ गतेको समयसीमा असार ७ गतेसम्म थप गरेको छ ।