काठमाडौं । चौतर्फी आलोचना पछि सरकार आफ्नै निर्णयबाट पछि हटेको छ ।
सरकारले मंगलबार सूचना सार्वजनिक गर्दै जेठ २५ गतेभित्र फागुन, चैत र बैशाखको कर तिर्न र नतिरे जरीवाना लाग्ने चेतावनी दिएको थियो । तर सर्वसाधरण, निजी क्षेत्रदेखि सांसदसमेतले यसको चर्को विरोध गरेपछि सरकारले यो निर्णय फिर्तालिँदै कर तिर्ने म्याद थप गरेको छ ।
आन्तरिक राजश्व विभागले बुधबार नयाँ सूचना निकाल्दै कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । यससँगै अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुने भएको छ ।
नयाँ सूचना अनुसार मूल्य अभिवृद्धि कर करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ ।
यसैगरी, अन्तःशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ नै बनाइएको छ ।
विभागका अनुसार आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि ७ नै हो । यस अवधिभित्रै कर दाखिला पनि गर्नुपर्छ । आयकर ऐन बमोजिम चैतमा बुझाउनुपर्ने चालू आवको संशोधित कर अनुमान र दोस्रो किस्ता बुझाउनुपर्ने म्याद असार १५ सम्म हो ।
