लकडाउनमा निगमको २२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान, जेठभित्रै थप ४ चार्टर्ड उडान गर्दै

काठमाडौं । लकडाउनको अवधिमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २२ वटा अन्तर्राष्ट्रि चार्टर्ड उडान गरेको छ ।

 

लकडाउनको साढे २ महिनाको अवधिमा निगमले १३ यात्रु चार्टर्ड र ९ कार्गो चार्टडसहित २२ अन्तर्राष्ट्रिय उडान गरेको हो । जुन नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा धेरै हो ।

 

निगमले यात्रु यात्रु चार्टर्डतर्फ जापानको नारितामा सबैभन्दा धेरै ६ वटा उडान गरेको छ। यसैगरी, हङकङ ३, अष्ट्रेलिया २ बंगलादेशको ढाका र भारतको दिल्ली १/१ वटा उडान गरेको छ।

 

अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा चार्टर्ड उडान निगमको आफ्नो उड्डयन इतिहासमै वाइडबडी जहाजमार्फत पहिलोपटक लामो गन्तव्य उडान हो ।

 

लकडाउन यता नेपाल एयरलाइन्सले चीनको ग्वाङ्जाओ र बेइजिङबाट मात्रै आठ कार्गो उडान गरेको छ । यी सबै स्वास्थ्य सामग्री ल्याउन भएका उडान हुन् ।

 

निगमले चीनका अन्य शहरमा पनि थप कार्गो उडान गर्ने योजना बनाएको छ । तथापि कार्गो उडानको तालिका तय भइनसकेको निगमले उल्लेख गरेको छ ।

 

निजी क्षेत्रका श्री एयरलाइन्स, हिमालयन एयरलाइन्सले पनि यस अवधिमा अन्तराष्ट्रिय चार्टर्ड उडान गरेका छन् ।नेपालबाट हाल तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

 

जेठभित्रै थप ४ चार्टर्ड उडान गर्दै

 

निगमले यही जेठ भित्रै थप चार चार्टर्ड उडान गर्ने भएको छ ।  आगामी जेठ २१, २२ र २३ गते (जुन ३, ४ र ५ तारिख) मा हङकङका लागि चार्टर्ड उडान गर्ने तालिका रहेको निगमले जनाएकोछ । यी उडानमा पनि निगमका दुई न्यारोबडी र एक वाइडबडी जहाज प्रयोग गरिनेछ ।

 

त्यसैगरी, तेस्रोपटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा आगामी जेठ २६ गते (जुन ८ तारिखका दिन) चार्टर्ड उडान गर्दैछ । यो उडान मलेशियाको क्वालालम्पुर हुँदै करिब १३ घण्टाको हुनेछ ।

क्वारेन्टिनमा बसेकालाई दैनिक २०० रूपैयाँ भत्ता Read Previous

क्वारेन्टिनमा बसेकालाई दैनिक २०० रूपैयाँ भत्ता

बाँझो जग्गामा खेतीगर्ने बढेपछि धानको बीउ दोब्बर बिक्री Read Next

बाँझो जग्गामा खेतीगर्ने बढेपछि धानको बीउ दोब्बर बिक्री