चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरेको हो ।
विश्वविद्यालयले यस वर्षदेखि आफ्नै ‘लोगो’ र ब्राण्डसहित प्याकिङ बीउको बिक्री सुरु गरेको विश्वविद्यालयका प्रध्यापक मुकेशकुमार सिंहले जानकारी दिए ।
कोभिड–१९ को जोखिमका कारण कृषकसँग बीउ पुग्ने सम्भावना कम रहे पनि धानको बीउ खरिद गर्न कृषक विश्वविद्यालय पुगेपछि यो समस्या हटेको हो ।विश्वविद्यालयले जिल्लाका कृषि समूहलाई एकमुष्ट बीउ उपलब्ध गराएर कृषकसम्म सहजरूपमा बीउ पठाउने गरेको छ ।
कोभिड–१९ ले अर्थतन्त्रमा ल्याएको गिरावटलाई कृषि क्रान्तिमार्फत् माथि उठाउन सकिने भएकाले एक महिना अगाडिबाट बीउ वितरण गरिएको प्रध्यापक सिंहले जानकारी दिए । यसअघि विश्वविद्यालयले धानको बीउ उत्पादन गरेर अन्य कम्पनीलाई दिने गरेको थियो ।
प्रध्यापक सिंहका अनुसार विद्यालयले आफ्नै प्रशोधन केन्द्र र परीक्षण प्रयोगशाला स्थापना गरेपछि बीउ उत्पादन र बिक्रीमा वृद्धि भएको हो ।
असारे धानको बीउका लागि उन्नत जातको राम र सावित्री धानको बीउ वितरण गरिएको छ । धानको बीउपछि अब मकै र गहुँको बीउ पनि प्रशोधन एवं परीक्षणको तयारीमा रहेको प्रध्यापक सिंहले बताए । यसबाट विश्वविद्यालयको आम्दानीमा समेत वृद्धि हुने उनको भनाइ छ ।
‘विश्वविद्यालयको लोगोसहित बीउ बजारमा आएपछि कृषक उत्साहित छन्,’ उनले भने, ‘बन्दाबन्दीको समयमा पनि ठूलो परिमाणमा धानको बीउ वितरण गर्नु खुसीको कुरा हो । कृषकले अब बीउ नपाउने समस्या हुँदैन ।’
बीउमा आत्मनिर्भर बन्न नेपाल सरकारले फार्मलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । नेपाल सरकारबाट थप सहयोग पाउन सके बीउ उत्पादन क्षमतालाई वृद्धि गर्न सकिने प्रध्यापक सिंह बताउँछन् ।
विश्वविद्यालयले मूल बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग लिएर आफ्नो फार्ममा स्रोत बीउ उत्पादन गर्दै आएको छ । विश्वविद्यालयले करिब ९५ बिघाभन्दा बढी क्षेत्रफलमा बीउका लागि खेती गर्दै आइरहेको छ । रासस