५ हजार क्षमताको बौद्ध ध्यान केन्द्र निर्माणले पुनः गति लियो, असारसम्म सक्ने लक्ष्य

काठमाडौ । कोरोना भाइरसका कारण सुस्ताएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणले पुनः गति लिएको छ ।

 

सामाजिक दूरी, सेनिटाइजरको प्रयोग लगायतका आवश्यक स्वास्थ्य सवाधानी सम्बन्धि निर्देशिकाको पालना गर्दै निर्माणलाई तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले निर्देशन दिएपछि गत शनिबार हेटौंडा र काठमाडौंबाट कामदार ल्याई पुनः काम तीव्र बनाइएको हो ।

 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्ने सभा हल तथा ध्यान केन्द्रको निर्माण कार्य २ वर्षअघि शुरु भएको हो । ३८ करोड ५६ लाख रुपैयाँको लागतमा पहिलो चरणको काम आचू आवको चैत ५ मै सम्पन्न गर्नेगरी सम्झौता भएता पनि यसको शिलन्यास बुद्धजयन्तिको अवसरमा पार्दा केही महिना पछि (२०७५ बैशाख) धकेलिएको थियो ।

कोरोनाका कारण निर्धारित मितिमा पहिलो चरणको काम सम्पन्न नहुने भएपछि आगामी असारसम्मका लागि अवधि थपिएको छ । ‘यस वर्षको बुद्ध जयन्तीको कार्यक्रम नयाँ सभा हलमा नै गर्ने भन्ने थियो तर कोरोनाका कारण प्रभावित बन्यो, पहिलो चरणको लागत पनि घटेको छ , लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राईले भने, ‘फल्ससिलिङ लगायतका केही निर्माण सामाग्री चीनबााट ल्याउनु पर्नेछ, ती सामाग्रीले अड्काउने बाहेकको काम अब चाँडै पूरा हुन्छ ।’ उनका अनुसार पहिलो चरणको निर्माण लागत करिब १० करोड घटेर २८ करोड १३ लाखमा झरेकोे छ ।

 

पहिलो चरणको ८५ प्रतिशत काम सकिएको पनि राईले बताए । उनले भने ‘ कोरियन प्रविधिबाट बनाउनुपर्ने सभाहलको छाना हाल्न दक्ष कामदार चाहिने तर ती कामदार नभएकाले काम रोकिएको थियो तर हेटौडा र काठमाडौंबाट कामदार ल्याएर अस्तिबाट पुन काम शुरु गरेका छौं ।’

 

छानो, वाथरुम, , मार्वल हाल्ने लगायतका अलग अलग क्लष्टरमा गरेर कोभिड विरुद्धको स्वास्थ्य निर्देशकाको पूर्ण पालनाका साथ करिब ६० जना कामदारले अहिले काम गरिरहेका छन् । पहिलो चरणको काम सकिए पछि आगामी आर्थिक वर्षमा दोस्रो चरणको काम शुरु हुने कोषका सदस्य सचिव राइले बताए । सभाहलको भित्री साजसज्जा, वाहिर पानीको फोहोरा लगायतका काम दोस्रो चरणमा पर्छन् ।

सन् २०१६ को अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मनाउँदा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि आवश्यक प्रकृया शुरु गरेर सभाहल निर्माण थालिएको हो ।

 

सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएपछि यो स्थल विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्ने बताइन्छ । हजारौ मान्छे एकैचोटी ध्यान गर्न मिल्ने मात्र नभएर ठूला अन्र्तराष्ट्रियस्तरका सभा सम्मेलन गर्न पनि यो उपयुक्त हुने कोषका सदस्य सचिव राइले बताए ।

 

लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो ।

 

बाँझो जग्गामा खेतीगर्ने बढेपछि धानको बीउ दोब्बर बिक्री Read Previous

बाँझो जग्गामा खेतीगर्ने बढेपछि धानको बीउ दोब्बर बिक्री

लकडाउनभर पुरानै पासले सवारी चलाउन पाइने, अब फेसबुकबाटै निवेदन Read Next

लकडाउनभर पुरानै पासले सवारी चलाउन पाइने, अब फेसबुकबाटै निवेदन