काठमाडौं । वार्षिक औसतमा २० प्रतिशतभन्दा बढी नाफा आर्जन गर्ने उद्योग पुनर्कर्जा सुविधा लिनका लागि अयोग्य हुने भएका छन् ।
पुनर्कर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले तयार पारेको पुनर्कर्जा कार्यविधिको मस्यौदामा यस्तो व्यवस्था गरिएको छ ।
मस्यौदा अनुसार उद्योगको सञ्चालन अवस्था राम्रो रहेको, विगत ३ वर्षको मुनाफा हेर्दा औसत प्रतिवर्ष पूँजीमा प्रतिफल २० प्रतिशतभन्दा बढी रहेको उद्योगले पुनर्कर्जा सुविधा नपाउने व्यवस्था छ ।
यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति १० करोड रुपैयाँभन्दा बढी पुनर्कर्जा सुविधा दिन नपाउने व्यवस्था पनि गर्न लागेको छ ।
हाल प्रतिव्यक्ति ५० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाइने सीमा राष्ट्र बैंकले घटाउन लागेको हो । कार्यविधिमार्फत बैंक तथा वित्तीय संस्थाले आफैं पुनर्कर्जा वितरण गर्ने व्यवस्था गर्न लागिएको रमस्यौदामा उल्लेख छ ।
हाल बैंक तथा वित्तीय संस्थाबाट आवेदन संकलन गरी राष्ट्र बैंकले प्रदान गर्दै आएको छ । मस्यौदामा उल्लिखित व्यवस्था जस्ताको तस्तै लागू भए अब कुल पुनर्कर्जा रकमको ७० प्रतिशत सीधै बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिन्छ ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकिदिएको क्षेत्र तथा मापदण्ड पुगेका ऋणी छनोट गरी कर्जा प्रवाह गर्नेछन् ।
उद्योगलाई ३ वर्गमा विभाजन
केन्द्रीय बैंकले तयार पारेको मस्यौदामा पुनर्कर्जालाई मुख्य ३ वर्गमा वर्गीकरण गरिएको छ । जसमा उद्योगहरुले ३ देखि ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरिएको छ।
लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा बैंकहरुले ऋणिबाट ५ प्रतिशत ब्याज लिन पाउने छन भने विशेष पुनर्कर्जामा ३ प्रतिशत र साधारण पुनर्कर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन्।
उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम,व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनर्कर्जालाई लघु,घरेलु तथा साना उद्यम पुनरकर्जामा वर्गिकरण गरिएको छ ।
यस्तै, बैंकले समय समयमा कुनैक्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिने छ ।
यस अन्तर्गत हाल कायम रहेको निर्यात,महिला उद्यमी,फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई पर्नेछन्।
त्यसैगरी लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र विशेष पुनर्कर्जामा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनर्कर्जाको रुपमा वर्गीकरण गरिएको छ।
कस्ता उद्योगले पाउँछन् पुनर्कजा ?
राष्ट्र बैंकले तयार पारेको मस्यौदा अनुसार प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे पनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यावसायिक दृष्टिले भविष्यमा सम्भाव्यता रहेका व्यवसाय, प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीले यस्तो कर्जा पाउछन् ।
यस्तै, वैदेशिक रोजगारीबाट फर्केका उद्यमी, कृषि उत्पादन तथा प्रशोधन, पशुपन्छीपालन, मत्स्यपालन आदि व्यवसाय गरेकाले पनि पुनर्कजा पाउन योग्य हुनछन् ।
यस्तै, न्यून आय भएका महिला, आदिवासी, जनजाति, मधेसी, दलित, फरक ढंगबाट सक्षम व्यक्तिले सञ्चालन गरेको निर्यातजन्य उद्योग, व्यवसायलाई पनि यसमा समेटिएको छ ।
जलविद्युत् परियोजना, कृषि क्षेत्र, पशुपन्छी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, सार्वजनिक यातायात, औषधि उद्योग, डायग्नोस्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहोरमैला प्रशोधनसँग सम्बन्धित उद्योगहरुले पनि यस्तो पुनर्कर्जा पाउँछन् ।
यी उद्योग पुनर्कर्जाका लागि अयोग्य हुन्छन्
मस्यौदामा उल्लेख गरिए अनुसार चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य उद्योगरव्यवसाय र मदिरा तथा मदिराजन्य उद्योगरव्यवसाय पुनर्कर्जाका लागि अयोग्य हुनेछन् ।
यस्तै, कुनै उद्यमका लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जामा पनि पुनर्कर्जा सुविधा दिइँदैन ।