काठमाडौं । स्वीजरल्यान्डका टेनिस स्टार रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा पुगेका छन् ।
फाेर्ब्सले प्रत्येक वर्ष निकाल्ने सूचीअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।
कीर्तिमान खेलाडीले विश्व फुटबलका हस्तीहरु क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेयमारलाई समेत उछिनेर बढी आम्दानी गर्ने खेलाडीका शीर्ष स्थानमा उभिएका हुन् ।
३८ वर्षका फेडेररले पछिल्लो वर्ष १०६.३ मिलियन अमेरिकी डलर ( करिब १२ अर्ब ७५ करोड रुपैयाँ) आम्दानी गर्दै चार स्थानमाथि उक्लिए ।

उनले ६.३ मिलियन पुरस्कारबाट प्राप्त गरेका छन् भने विभिन्न प्रायोजकबाट १०० मिलियन पाउण्ड प्राप्त गरे । उनी सन् २०१९ मा सर्वाधिक कमाउने खेलाडीको सूचीमा पाँचौं स्थानमा थिए ।
यस वर्ष दोस्रो धेरै आम्दानी गर्ने खेलाडीमा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले रहेका छन् । उनले रोजरको भन्दा १.३ मिलियन कम अर्थात् १०५ मिलियन अमेरिकी डलर कमाएका छन् ।
यस्तै धेरै कमाउने खेलाडीहरुमा तेस्रोमा लियोनल मेस्सीले १०४ मिलियन, चौथौमा नेयमारले ९९.५ मिलियन र पाँचौंमा अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ८८.२ मिलियन अमेरिकी डलर कमाउँदै शीर्ष ५ खेलाडीको सूचिमा रहेका छन् ।
यस्तै अमेरिकी बास्केटबल खेलाडी स्टेफन केरी ७४.४ मिलियन, बास्केटबल खेलाडी केभिन डुरान्ट ६३.९ मिलियन, गल्फ खेलाडी टाइगर वुड्स ६२.३ मिलियन, फुटबलर क्रिक काउन्सिस् ६०.५ मिलियन र फुटबलर जारेड गोफ ४९ मिलियन डलर कमाउँदै क्रमशः शीर्ष दश भित्र रहेका छन् ।
बक्सर टाइसन फुरी ४६.२ मिलियन आयसहित ११ औँ स्थानमा परेका छन् । समग्रमा २९ स्थानमा रहेकी टेनिस खेलाडी नाओमी ओशाका महिला तर्फ सर्वाधिक आय गर्ने खेलाडी बनेकी छन् ।
टेनिस स्टार नोभाक जोकोभिच २३ औं, राफेल नाडाल २७ औं स्थानमा रहँदा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहा ३४ औं र केलियन एम्बाप्पे ३६ औं स्थानमा रहेका छन् ।
कोरोना महामारीका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएकाले टेनिस खेलाडी सर्वाधिक कमाई गर्ने पहिलो खेलाडी बनेको बताइएको छ ।