काठमाडौं । अब रिचार्ज र सिम कार्डमा २ प्रतिशत कर लाग्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तयार पारेको आर्थिक ऐनमा रिचार्ज र सिम कार्डमा २ प्रतिशत टेलिफोन स्वामित्व कर लाग्ने व्यवस्था गरिएको छ ।
यस अघि ल्याण्डलाइन र पोस्टेपेड मोबाइलमा मात्र स्वामित्व कर लाग्दै आएकोमा अब भने प्रिपेडसहित रिचार्ज कार्डमा समेत स्वामित्व कर लाग्ने भएको हो ।
दूरसञ्चार सेवामा उच्च कर लगाउँदै आएको सरकारले पुनः नयाँ शीर्षकमा थप कर लगाएको हो । नेपाल दूरसञ्चार सेवामा विश्वमै उच्च कर लगाउने देशहरुको सूचीमा शीर्ष दश मुलुकभित्र पर्दछ ।