बैंकको ऋण लगानी घट्यो, ८३ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह २२ अर्ब मात्र

काठमाडौं । गत चैतदेखि वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

 

राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा ३१ अर्ब ६९ करोड रुपैयाँ तरलता प्रवाह भएको छ । सोअन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत रु एक अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको छ ।

 

गत चैतदेखि वैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरुबीच १ खर्ब ५३ अर्ब २० करोड र वित्तीय संस्थाहरुबीच ८ अर्ब ३ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ ।

 

चालू आवमा सरकारले १ खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना रहेकामा यही जेठ ९ गतेसम्म ४५ अर्ब बरारबको ट्रेजरी बिल, १ खर्ब बराबरको विकास ऋणपत्र, १३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र गरी कुल १ खर्ब ४५ अर्ब १४ करोड २० हजार रुपैयाँ आन्तरिक ऋण परिचालन गरिएको छ ।

 

वाणिज्य बैंकहरुले कुल कर्जाको कम्तिमा १० प्रतिशत कृषि तथा १५ प्रतिशत ऊर्जा, पर्यटनलगायतका प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत चैत मसान्तसम्म कृषिमा २ खर्ब ६६ अर्ब, ऊर्जामा १ खर्ब ४० अर्ब र पर्यटनमा १ खर्ब ३० अर्ब लगानी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

 

त्यस्तै गत चैत मसान्तसम्म २८ हजार ६५९ ऋणीलाई ५३ अर्ब ८७ करोड सहुलियतपूर्ण कर्जा लगानी गरिएको छ । त्यसमध्ये २३ हजार ४०९ ऋणीलाई ५० अर्ब ४७ करोड व्यावसायिक तथा पशुपक्षी कर्जा, पाँच हजार २५० लाई ३ अर्ब ४१ करोड कृषि तथा पशुपंक्षी कर्जा प्रवाह गरेको छ ।

सरकारको ऋण बढेको बढ्यै : ८ महिनामा थपियो ९२ अर्ब ऋण, प्रति नेपालीको थाप्लोमा कति Read Previous

सरकारको ऋण बढेको बढ्यै : ८ महिनामा थपियो ९२ अर्ब ऋण, प्रति नेपालीको थाप्लोमा कति

डेढ महिनामा सम्पन्न हुँदै रानीपोखरी पुनर्निर्माण, धरहराका लागि २ अर्ब बजेट आवश्यक Read Next

डेढ महिनामा सम्पन्न हुँदै रानीपोखरी पुनर्निर्माण, धरहराका लागि २ अर्ब बजेट आवश्यक