डेढ महिनामा सम्पन्न हुँदै रानीपोखरी पुनर्निर्माण, धरहराका लागि २ अर्ब बजेट आवश्यक

काठमाडौं । रानीपोखरी निर्माण अबको डेढ महिनामा सम्पन्न हुने भएको छ । लकडाउनमा समेत निरन्तर काम भइरहेको रानीपोखरीमा हालसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजना प्रमुख ध्रुव पौडेलले बताए । उनका अनुसार चालू आर्थिक वर्षभित्रै रानीपोखरी निर्माण सम्पन्न गर्ने गरी तीव्र्र गतिमा काम भइरहेको छ ।

 

उनले लकडाउनका कारण रानीपोखरी निर्माणमा खासै असर नपारेको बताए । हाल रानीपोखरीमा कालोमाटो बिछ्याएर इँटा राख्ने काम भइरहेको छ । यो काम अन्तिम चरणमा रहेको उनले बताए ।

 

‘मौसमले धेरै समस्या नदिए यही आवभित्र रानीपोखरी निर्माण सकिन्छ, काम भए अनुसार आशावादी छौँ,’ योजना प्रमुख पौडेलले चाणक्य पोष्टसँग भने ।

 

यस्तै रानीपोखरी निर्माणका क्रममा बीचमा मन्दिर बनाउने कामले केही समय लिन सक्ने देखिएको उनले बताए । इँटा मिलाउने र मन्दिर बनाउने कामसँगै मन्दिरभित्र बत्ती राख्ने, तथा हरियाली बनाउने काम समेत भइरहेको छ । हाल बत्ती राख्नका लागि पाइप बिछ्याउने काम भइरहेको उनले बताए ।

 

यी कामहरु सकिए पछि रानीपोखरी भित्र पार्क तथा वरिपरीका क्षेत्रलाई सौन्दर्यरीकरण गरिने काम हुने उनले बताए । त्यसका लागि छुट्टै ठेक्का दिएर आगामी आर्थिक वर्षभित्र हरियाली निर्माण तथा पार्क बनाउने उनले जानकारी दिए । ‘रानीपोखरी भित्रका निर्माण यही आर्थिक वर्षभित्र सक्ने छौँ, त्यसपछि पार्क तथा हरियाली निर्माणको काम आगामी आर्थिक वर्षभित्र सक्ने छौँ,’ पौडेलले भने ।

 

हालसम्म रानीपोखरी निर्माणका क्रममा १५ करोड रुपैयाँ खर्च भइसकेको छ । विभिन्न निर्माणका काम सम्पन्न नभएसम्म भुक्तानी नगरिने भएकाले बजेट खर्च धेरै नदेखिएको उनले बताए ।

 

पोखरी निर्माणका लागि मात्र उपभोक्ता समितिलाई ९ करोड ५० लाख रुपैयाँ दिइएको छ भने निर्माण व्यवसायीलाई १५ करोड रुपैयाँ लगानी उपलब्ध गराइएको छ । यसरी रानीपोखरी निर्माणको कुल लगानी २४ करोड रुपैयाँ रहेको छ ।२ लाख २० हजार वर्ग फिटको रानीपोखरीमा कालो माटो र इँटाको प्रयोग गरी पानी अड्याइने छ । यो जिम्मा उपभोक्ता समितिलाई दिइएको छ ।

 

पोखरीको बाहिरी पर्खालहरूमा फिसबोन स्टाइलमा इँटा बिछ्याएर ट्रयाक बनाइनेछ भने शौचालय, ८ वटा विश्रामस्थल पनि बनाइने छन् ।
२०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनः निर्माणको शिलन्यास गरेकी थिइन् ।

 

२०७३ मा वैशाखमा कात्तिकसम्म निर्माण सक्ने गरी ६ करोड २९ लाखमा पोखरीको पुनः निर्माणको ठेक्का लगाइए पनि विभिन्न कारणले अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । कोरोना भाइरसको प्रकोप र त्यसपछिको लकडाउनका कारण गति लिन नसके पनि चालू आर्थिक वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

 

धरहरा निर्माणका लागि २ अर्ब बजेट आवश्यक

 

सुरुवातदेखि नै तीव्र गतिमा काम भइरहेको धरहरा पुनःनिर्माण लकडाउन यता काममा सुस्तता आएको छ । पछिल्लो समय जनशक्ति अभावका कारण सुस्त गतिमा धरहरा निर्माण भइरहेको आयोजना प्रमुख ध्रुव पोखरेलले बताए ।

हालसम्म धरहराको १० औँतल्ला ढलानको काम सम्पन्न भएको छ । अन्डग्राउण्डसहित २२ तले धरहरा बन्न लागेको हो । हाल धरहरामा डबल बेसमेन्ट र त्रिपल बेसमेन्टको काम भइरहेको छ ।

 

धरहरा निर्माण दक्ष कामदारले मात्र गर्न सक्ने भएकाले कतिपय कामदार गाउँ फर्केकाले थोरै जनशक्तिले मात्र कामलाई निरन्तरता दिइरहेको उनले बताए ।

 

धरहरा पुनर्निर्माणका लागि कुल ३ अर्ब ४२ करोड रुपैयाँ लागत आवश्यक पर्छ । सो मध्ये चालू आवमा १ अर्ब खर्च रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ । आगामी आवमा २ अर्ब ४२ करोड रुपैयाँ बजेट आवश्यक पर्ने छ ।

 

‘जुन गतिमा हुनु पर्ने त्यो गतिमा काम हुन सकेको छैन,’ पौडेलले भने ‘यसले अझै निर्माणको अवधि बढाउन सक्छ ।’ निर्माण सामग्री समेत ल्याउनमा समस्या भएको उनले बताए । निर्माण सामग्री ल्याउने स्थानमा जनशक्ति नहुँदा सिमेन्ट निकाल्ने हाल्ने मानिसहरु नभएको उनले बताए ।

 

चिनियाँ निर्माण कम्पनी जीआइइटिसी-रमन जेभीले २०७७ असोज २१ गतेसम्म पार्किङलगायत सम्पूर्ण निर्माणको काम सम्पन्न गरी धरहरा सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

 

२ वर्षभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्यसहित धरहरा पुनर्निर्माण प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते शिलन्यास गरी औपचारिक रुपमा सुरु गरिएको थियो ।

बैंकको ऋण लगानी घट्यो, ८३ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह २२ अर्ब मात्र Read Previous

बैंकको ऋण लगानी घट्यो, ८३ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह २२ अर्ब मात्र

लुम्बनी गुरुयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन Read Next

लुम्बनी गुरुयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन