सरकारको ऋण बढेको बढ्यै : ८ महिनामा थपियो ९२ अर्ब ऋण, प्रति नेपालीको थाप्लोमा कति

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा नेपाल सरकार (संघीय सरकार) को तिर्न बाँकी खुद सार्वजनिक ऋण ९२ अर्ब रुपैयाँले बढेको छ।

 

अर्थ मन्त्रालयले सार्वजनिक आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार चालू आवको फागुनसम्ममा सरकारको ऋण ९१ अर्ब ९० करोड थपिएको छ ।

 

सर्वेक्षण अनुसार चालू आवको फागुनसम्ममा संघीय सरकारको सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ उत्पादनको ३०.३ प्रतिशत बराबर हो ।

 

यो गत आवको असार मसान्तको तुलनामा ८.७६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारको सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ थियो ।

 

सरकारको कुल ऋणमध्ये ६ खर्ब ९९अर्ब ७५ करोड रुपैयाँ बाह्य (विदेशी) ऋण र ४ खर्ब ४० अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ।

 

यस अनुसार प्रत्येक नेपालीको थाप्लोमा ३८ हजारभन्दा बढी सार्वजनिक ऋण रहेको छ । हाल नेपालको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३९६ छ । सबैलाई समानुपातिक रुपमा भाग लगाउँदा प्रत्येक नेपालीको टाउकोमा ऋणको भारी ३८ हजार १३९रुपैयाँ सार्वजनिक ऋण पर्न आउँछ ।

 

चालू आवको माघसम्ममा संघीय सरकारको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ थियो । पछिल्लो १ महिनामा मात्रै सरकारको ऋण २४ अर्ब ९९करोडले बढेको छ । जसअनुसार एक महिनामै प्रति नेपालीको थाप्लोमा ८३६ रुपैयाँले बढेको छ ।

 

पछिल्लो समय कोरोना भाइरसका कारण देशको अर्थतन्त्र नै ठप्प जस्तै भएको छ । जसले गर्दा सरकारको आम्दानीको मुख्य स्रोत राजस्व असुलीमा ठूलो गिरावट आएको छ । राजस्व असुलीमा आएको कमीले गर्दा आगामी दिनमा सरकारको ऋण झनै बढ्ने सम्भावना रहेको छ ।

९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी, मेलम्चीको भौतिक प्रगति ९४ प्रतिशत Read Previous

९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी, मेलम्चीको भौतिक प्रगति ९४ प्रतिशत

बैंकको ऋण लगानी घट्यो, ८३ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह २२ अर्ब मात्र Read Next

बैंकको ऋण लगानी घट्यो, ८३ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह २२ अर्ब मात्र