काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्स पठाउने प्रक्रियामा केही खुकुलो बनाएको छ ।
कोरोनाबाट सृजित समस्यालाई मध्येनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक वा रेमिट्यान्स कम्पनी मार्फत नभई आफू कार्यरत कम्पनीबाटै पनि पैसा पठाउन पाउने व्यवस्था गरेको छ ।
यससँगै अब विदेशबाट पैसा पठाउन चाहानले व्यक्तिले आफू कार्यरत कम्पनीबाटै पैसा पठाउन पाउने भएको छ । यसअघि बैंक वा रेमिट्यान्स कम्पनीमार्फत मात्रै विदेशबाट पैसा पठाउन पाउने व्यवस्था थियो ।
अब कामदारले काम गर्ने कम्पनीको मालिक वा उसको एकाउन्टेन्टले बैैंकबाट पैसा पठाइदिन सक्छ ।लकडाउनको कारणले पैसा पठाउन बैंक वा रेमिट्यान्स कम्पनीसम्म जान नसकिने भएपछि राष्ट्र बैंकले यो व्यवस्था गरेको हो ।
यसरी रेमिट्यान्स पठाउन प्रतिदिन प्रतिपटक अधिकतम १ हजार ५ सय अमेरिकी डलर मात्र पठाउने सीमा राष्ट्र बैंकले तोकेको छ ।कोभिड १९ को अवस्था कायम रहेको समयसम्मका लागि भन्दै राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।
विभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंक तथा वित्तीय संस्थाको सहकार्यमा कम्पनीले सम्बन्धीत बैंकमा खाता खोली, उक्त खातामा कामदारको पारिश्रमिक जम्मा गर्नु पर्नेछ ।
सोही खातामा रहेको रकम मध्येबाट कम्पनीरप्रतिनिधिको अनुरोधमा कामदारले तोकेको व्यक्तिको नाममा पैसा पठाउन सकिनेछ ।