सीजी हस्पिटालिटीले दुबईमा आफ्नो महत्वकांक्षी होटल परियोजना शुरु गरेको छोटो समयमै कोरोना महामारी शुरु भयो । दुबइको उक्त होटल २०० कोठाको थियो । ११ देशका १३५ वटा होटलसम्म फैलिएको छ सीजी हस्पिटालिटी होल्डिङ्सको व्यवसायिक साम्राज्य । यी होटलहरु न्यू योर्कदेखि चीनसम्म फैलिएका छन् ।
‘हो, हामीले धक्का खाएका छौं, तर विचलित भने भएका छैनौं । म यो अवस्थालाई अवसरका रुपमा हेरिरहेको छु । लागतको पुनर्मूल्याङ्कन गर्ने, व्यवसायीक मोडलहरुमा फेरी घोत्लिने, व्यवस्थापन र सञ्चालनलाई चुस्त बनाउन र आम्दानी बढाउने सृजनात्मक उपाएहरुका बारेमा सोचिरहेको छु । यो क्षेत्र भनेको पूँजी केन्द्रित क्षेत्र हो र शून्य आम्दानी हुने वित्तिकै चुनौतीहरु ठूला भइहाल्छन् । हामी ११ वटै देशमा विभिन्न उपायहरु लगाइरहेका छौं । अब हामीले अगाडी हेर्ने र अवश्यम्भावीको लागि योजना बनाउने गर्नुपर्ने छ’, राहुल चौधरी भन्छन् ।

चौधरीका अनुसार महामारी अत्यन्तै घातक देखिएको छ । यसले एयरलाइन्स, होटल, ट्राभल एजेन्ट, रेष्टुरेन्ट, क्रुज लगायत पर्यटनका समग्र मूल्य श्रृंखलालाई बिथोलिदिएको छ । त्यसैले उनको विचारमा समग्र व्यवसायले अबका दिनमा बदलिएको परिस्थितिको सामना गर्नका लागि तयार हुनुपर्ने भएको छ ।
‘अहिले पनि आम्दानीका नयाँ स्रोतहरु खोज्नका लागि कामहरु शुरु भएको देखिएका छन् । उदाहरणको लागि रेष्टुरेन्टहरुले अनलाइल पाेर्टलहरुसँगको साझेदारीमा खाना डेलिभरी सेवा शुरु गरेका छन् । होलल उद्योगले पनि स्वास्थ्य र सुरक्षा सम्बन्धी आफ्ना नीतिहरुमा परिर्वतन ल्याएका छन् । यस्ता नयाँ ट्रेण्डहरुको हामी आगामी दिनहरुमा पनि साक्षी बन्नेवाला छौं ।’ चौधरी भन्छन् ।
ध्यान दिनुपर्ने कुरा के छ भने कोभिड १९ स्थायी होइन, यो चाँडै सकिन्छ । व्यवसायी शुरु गर्नका लागि छुट्टै बस्ने अवस्था रहिरहनु राम्रो नभएको चौधरी बताउँछन् । धेरै देशहरुले क्षेत्रीय साझेदारी शुरु गरेका छन्, पर्यटन व्यवसाय सुचारु गर्नका लागि । हालै अष्ट्रेलिया र न्युजिल्याण्डले यसै गर्ने योजना अघि सारेका छन् ।

हालै आइटिसीका नकुल आनन्दले ब्राण्ड र हस्पिटालिटीको भविष्य गुणस्तर, सुरक्षा र विश्वसनियतामा निर्भर हुने बताएका छन् । ‘म यसमा पुरै सहमत छु’, चौधरी भन्छन् ।
अबका दिनमा यात्रुहरु आफूले भ्रमण गर्ने गन्तव्य र त्यहाँ प्राप्त गर्ने सेवाहरुको बारेमा धेरै सचेत हुने छन् ।हस्पिटालिटी र होटलको क्षेत्रमा गुणस्तरीय सेवाका लागि मानिसले एक अर्कालाई छुनु (ह्युम्यान टच) महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा परिवर्तन आउन सक्ने चौधरी बताउँछन् ।
चौधरीको विचारमा हरेक चुनौतीले अवसर पनि ल्याउँछ । यो चुनौतीले दिगो व्यवसायिक मोडलको खोजी गर्नका लागि यो क्षेत्रलाई घच्घचाएको छ । कतिपय क्षेत्रका अधिक पर्यटन (ओभर टुरजिम) बन्द भएको छ । यो दिगो पर्यटनको लागि महत्वपूर्ण छ ।
चौधरीका अनुसार अहिलेको अवस्था भनेको क्षति कम गर्ने अवस्था हो । सरकारबाट कुनै राहत नआएको अवस्थामा अहिले यो क्षेत्र आफ्नै अवस्थामा छाडिएको छ । ‘अहिले वित्तीय शून्यताले हाम्रा पार्टनरहरुमा ठूलो दबाव परेको छ । यो क्षेत्रले उनीहरुबाट लिएको कर्जा खराब कर्जामा जाने जोखिम बढेको छ ।’

-द इकोनोमिक टाइम्समा प्रकाशित सामग्रीको आंशिक भावानुवाद