काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएपछि बीमा समितिले कोरोना बीमालेख परिमार्जन गरेको छ ।
विशेषगरी भारतबाट स्वदेश फर्किनेक्रम अत्याधिक भएपछि समितिले बीमालेखका लागि विशेष खालको अण्डरराइटिङ निर्देशन जारी गरेको हो ।
उक्त निर्देशन अनुसार कुनै पनि व्यक्ति विदेशबाट आएको १ महिनापछि मात्र कोरोना बीमालेख किन्न पाउने भएका छन् । अर्थात् विदेशी मुलुकबाट नेपाल आई क्वारेनटाइमा १५ दिन बसेपछि र फेरि आफ्नो परिवारसँग बसेको १५ दिनपछि मात्रै कोरोना बीमालेख खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
यस्तै विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
आरडीटी परीक्षणको रिर्पोट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत निकायहरुबाट प्रमाणित भएको हुनुपर्ने बीमा समितिले जनाएको छ ।
अण्डरराइटिङ कार्यका लागि संलग्न पुरक फारम सबै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वेबसाइटमा राख्नु पर्ने र उक्त फारम भरी स्वीकृत भएपछि मात्रै बीमालेख जारी हुने गरी आफ्नो विद्युतिय विक्री प्रकृयामा अनिवार्य रुपमा थप व्यवस्था गर्नुपर्नेछ ।
बैशाख ७ गते देखि सुरु गरेको कोरोना बीमामा एक महिनाको अवधिमा कुल १२ हजार ५७८ बीमा मार्फत १ लाख ५९ हजार ९३६ जनाको बीमाख भएको समितिले जनाएको छ । त्यसबाट ८ करोड ६१ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ ।