लकडाउन यता सवा ३ अर्बको औषधि आयात, १ लाख ८४ हजार मेट्रिकन खाद्यान्न भित्रियो

काठमाडौं । लकडाउन शुरु भएयताका ५६ दिनमा करीब सवा ३ अर्ब रुपैयाँ बराबरको तयारी औषधि तथा औषधिको कच्चा पदार्थ आयात भएको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार लकडाउनपछि मंगलबारसम्म २ अर्ब ७१ करोड ६ लाख ६७ हजार बराबरको तयारी औषधि र ६१ करोड ४९ लाख ९५ हजार बराबरको औषधिको कच्चा पदार्थ गरी ३ अर्ब २५ करोड ६६ लाख २० हजार बराबरको औषधिजन्य पदार्थ आयात भएको छ ।

 

मन्त्रालयको तथ्यांक अनुसार यस अवधिमा १ लाख ८३ हजार ९२३ मेट्रिक टन खाद्यान्न, ५१ हजार ८३२ मेट्रिक टन दलहन, ६९ हजार २५५ मेट्रिक टन तरकारी, २५ हजार ९८१ मेट्रिक टन फलफूल र १२ हजार ५७ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

 

बन्दाबन्दीपछि खाद्य पदार्थ आयातमा वृद्धि भएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । उनका अनुसार पहिलो हप्ताको तुलनामा आठौँ हप्तामा खाद्यान्न आयातमा ८२ दशमलव ६ प्रतिशत तथा दलहन र गेडागुडी आयातमा १२१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

 

यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ९ दशमलव ६ र ३०५ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा दुग्धजन्य पदार्थ आयातमा १३२ दशमलव ९, औषधिको कच्चापदार्थमा १९८ दशमलव ३ र तयारी औषधिमा ५७ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

 

बन्दाबन्दी भएपछिको हाल विद्यमान आठौँ सातामध्ये खाद्यान्न पाँचौ साता, दलहन तथा गेडागुडी, फलफूल र तयारी औषधि छैटौँ साता र औषधिको कच्चा पदार्थ सातौँ सातामा सबैभन्दा बढी आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी तरकारी तथा दुग्धजन्य पदार्थ चौथो सातामा सबैभन्दा बढी आयात भएको थियो । रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ ।

 

मंगलबारसम्म वीरगञ्ज एकीकृत जाँचचौकीबाट ३१२ ट्रक भित्रिएको, २७६ ट्रक बाहिरिएको र ६३३ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १८० ट्रक भित्रिएको, ११५ ट्रक बाहिरिएको र तीन हजार ५९२ ट्रक रोकिएका छन् ।

 

भैरहवा नाकाबाट ५० ट्रक भित्रिएको, ४४ ट्रक बाहिरिएको र १८० ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाँचचौकीबाट २१७ ट्रक भित्रिएको, ११४ ट्रक बाहिरिएको र २५५ ट्रक उतै रोकिएका छन् भने विराटनगर सुख्खा बन्दरगाहमा एक ट्रक रोकिएको छ । काकरभिट्टा जाँचचौकीबाट ६८ ट्रक भित्रिएको, ५८ ट्रक बाहिरिएको र ३३ ट्रक रोकिएको छ ।

फेसबुकले ल्यायो ‘भर्चुअल सपिङ मल’ सुविधा, सित्तैमा अनलाइन स्टोर बनाउन र सामान बेच्न मिल्ने Read Previous

फेसबुकले ल्यायो ‘भर्चुअल सपिङ मल’ सुविधा, सित्तैमा अनलाइन स्टोर बनाउन र सामान बेच्न मिल्ने

प्रभु बैंक ३ दिन बन्द हुने Read Next

प्रभु बैंक ३ दिन बन्द हुने