सिनेमा, वृत्तचित्र इत्यादि हेर्न मिल्ने भिडियो स्ट्रिमिङ एप ‘नेटफ्लिक्स’ले अहिले आफ्नो ग्राहकको संख्या ह्वात्तै बढाएको छ । कोरोना महामारीको नियन्त्रणका लागि सामाजिक दूरी कायम गर्नका लागि सिनेमा हलहरु बन्द गरिएपछि सिनेमा हेर्ने यो डिजिटल पूर्वाधारले छलाङ मारेको हो ।
पछिल्लो समय परम्परागत धेरै व्यवसायहरु थला पर्दै गएको समयमा केही यस्ता डिजिटल व्यवसायहरु भने धेरै अगाडि आएका छन् । यो लकडाउनका कारण नेटफ्लिक्सले अनुमान गरेभन्दा दुइगुणा बढी मानिसहरु यसको ग्राहक बनेका छन् ।

कम्पनीले यस वर्षको जनवरीदेखि मार्च महिनासम्ममा ७० लाख नयाँ ग्राहक बनाउने अनुमान गरेको थियो । तर यस अवधिमा नेटफ्लिक्सका १ करोड ५८ लाख नयाँ ग्राहक थपिएका छन् । अहिलेसम्म यो कम्पनीको ग्राहक झण्डै २० करोड हाराहारी पुगिसकेको छ ।
कम्पनीले लकडाउन पछि भने आफ्नो ‘सब्सकृप्सन’ घट्दै जाने अनुमान गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई यसै बताएको छ । कम्पनीको सेयर मूल्यमा गत फेब्रुअरीमा ११ प्रतिशतको बढोत्तरी भएको थियो ।
विश्लेषकहरु भने विश्वव्यापी मन्दीको असर यस्ता व्यवसायहरुमा पनि पर्ने बताउँछन् । यस्ता व्यवसायहरु मात्र मन्दीको सिकञ्जाबाट उम्कन संभव नभएको उनीहरुको तर्क छ । त्यसैले अहिले सेयर मूल्यमा आएको उछालका आधारमा मात्र भविष्यको लगानीको रणनीति तय गर्न नसकिने उनीहरुको बुझाइ छ ।
नेटफ्लिक्सले अहिले सिनेमा र टिभी प्रोडक्सनहरु बन्द भएका कारण अहिले आफ्नो नगद प्रवाह बढेको बताएको छ । अहिले नेटफ्लिक्समा रहेका उत्पादनहरु पहिल्यै बनिसकेको उसले जनाएको छ । अब भने आफूहरुलाई कन्टेन्टको पनि केही समय अभाव हुने उनीहरुको बुझाइ छ । कन्टेन्ट नै नभएपछि नगद प्रवाहमा पनि असर त पर्ने नै भयो ।

चालू वर्षको पहिलो त्रैमाससम्म नेटफ्लिक्सको कारोबार ५.७७ अर्ब डलर पुगेको छ । गत वर्ष कम्पनीको कारोबार ४.५२ अर्ब डलर रहेको थियो । अमेरिकी डलरको भाउ बढेका कारण पनि कम्पनीको कारोबार मूल्य बढेको हो ।
लकडाउन अघि पनि नेटफ्लिक्सले आफ्नो प्रभाव राम्रो पार्न थालिसकेको थियो । सन् १९९६ मा स्थापना भएको यो कम्पनीमा आफ्ना फिल्म तथा वृत्तचित्रहरु रिलज गर्न गन्यमान्य निर्देशक तथा निर्माताहरुले धेरे सजिलो मान्न थालिसकेका छन् ।
सेन्सर बोर्डको झमेला नहुने र आफ्नो सृजनशीलता निर्धक्क देखाउन पाइने हुनाले उनीहरु यो पूर्वाधार प्रति लोभिएका हुन् । फरक धारका सिनेमा बनाउनेहरु विशेष गरी यो प्लेर्फम प्रति धेरै लोभिएका छन् ।
गत जनवरीदेखि मार्चसम्म कम्पनीले सबैभन्दा धेरै ग्राहकहरु युरोपमा बनाएको हो । युरोपमा यो अवधिमा कम्पनीले ४४ लाख ग्राहक थपेको छ ।