काठमाडौं । कोरोनाका कारण विश्वका अधिकांशदेशहरु नराम्ररी प्रभावित भएसँगै नेपाल भित्रिने रेमिटेन्समा ठूलो गिरावट आएको छ । वैदेशिक रोजगारीका लागि धेरै नेपाली कामदार जाने मलेसियासहित खाडी मुलुकहरुमा मन्दी आएसँगै त्यहाँबाट नेपाल आउने रेमिट्यान्स पनि ह्वात्तै घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुनको तुलनामा चैतमा नेपाल भित्रिने रेमिट्यान्स आधाभन्दा बढीले घटेको छ । फागुनमा ७९ अर्ब २० करोड रेमिट्यान्स भित्रिएकोमा चैतमा त्यो ४४ अर्बले घटेर ३४ अर्ब ५० करोड रुपैयाँ मात्र रेमिटेन्स भित्रिएको छ। यो फागुनको तुलनामा ५६ प्रतिशतले कमी हो । वैशाखमा यो अझै घट्ने देखिन्छ।
फागुनसम्म देशमा ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। चैतमा साढे ३४ अर्बले बढेर ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो चैतको तुलनामा यसपाली ४ प्रतिशतले मात्र घटेको देखिन्छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।