उपत्यकाका ९ सडक आयोजनाको काम अलपत्र, कुन सडकको कति काम भयो

"काम नसकिएपछि म्याद थप्ने तयारी"

काठमाडौं । उपत्यका सडक विस्तार आयोजनाले चालू आर्थिक वर्षभित्र सक्ने ३ आयोजना तोकिएको समय अवधिमा नसक्ने भएको छ ।

 

लकडाउनका कारण ठेकदारहरुले सडकमा काम गर्न नपाउँदा चाबहिल-साँखु, त्रिपुरेश्वर-नागढुंगा र लगनखेल सातदोबाटो सडकखण्ड विस्तारका काम तोकिएको समयमा सम्पन्न नहुने भएको हो ।

 

आयोजनाले सो सडक विस्तारका काम यथास्थितिमै भए पनि चालू आर्थिक वर्षभित्र सक्ने योजना बनाएको थियो । चालू आर्थिक वर्षमा उपत्यका सडक विस्तारका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये ६० करोड बजेट खर्च भइसकेको आयोजनाका इन्जिनीयर तथा सूचना अधिकारी लक्ष्मण देवकोटाले जानकारी दिए ।

 

उनका अनुसार लकडाउनका क्रममा भइरहेका केही कामहरुबाट थप खर्च निस्किन सक्छ । उनले लकडाउन भए पनि केही काम भइरहे पनि चालू आवभित्र सम्पन्न गर्ने काम पूरा नहुने देखिएको हो ।

 

उनले चाबहिल–साँखुको काम लकडाउनमा ठेकेदारले गर्न खोज्दा स्थानीयहरुले गर्न नदिएको बताए । आगामी आर्थिक वर्षका लागि २ अर्ब बजेटको काम अझै बाँकी रहेको देवकोटाले बताए । उनले आगामी आवमा सबै विस्तारका काम सम्पन्न गर्ने गरी योजना बनाइएको बताए ।‘यो वर्ष सक्ने भनेको सबै काम अर्को वर्ष नै सकिन्छ, सक्दो आगामी वर्षभित्र सबै विस्तारको काम सक्यो योजना रहेको छ,’ देवकोटाले भने ।

 

यस्तो छ उपत्यका विस्तारका ९ योजनाको अवस्था

 

चाबहिल-साँखु सडक 

 

 विस्तारमा क्रममा निकै चर्चामा आएको चाबहिल-साँखु सडकखण्ड यही वर्ष २०७६ को चैत्र मसान्तसम्ममा सम्पन्न हुने भएको छ । सो खण्डको साढे ७ किलोमिटर सडक कालोपत्र भइसकेका छन् । झण्डै ५ किलोमिटरका हाराहारीमा सडक कालोपत्र गर्न बाँकी रहेको छ ।

 

कुल साढे १२ किलोमिटर सो सडक यही चैत्र मसान्तसम्ममा सकिने उपत्यका सडक विस्तार आयोजनाको लक्ष्य रहेको थियो । लकडाउनका कारण काम ठप्प रहेको छ । देवकोटाका अनुसार चाबहिल साँखुको काम २० दिन लगातार गरे सक्ने सम्भावना रहेको छ ।

 

चाबहिल-साँखु सडक खण्ड निर्माण २०७१/७२ सालबाट सुरु भएको हो । सो सडक खण्ड अन्तर्गत लामा/समान्तार जेभीले ठेक्का लिएको १ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।

 

त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक 

 

यो सडक विस्तार अन्तर्गत सरफेस निर्माण सकिसकेको आयोजनाले जनाएको छ । देवकोटाले यस सडकमा फिनिसिङको मात्र काम बाँकी रहेको बताए । कालोपत्र गर्ने काम सम्पन्न भइसके पनि फुटपाथ, पेन्टीङ, सडक जेब्राक्रसिङ लगायतका पूर्वाधार बनाउन बाँकी रहेको थियो । सो काम एक/डेढ महिनामै सकिने भए पनि लकडाउनका कारण रोकिएको देवकोटाले बताए ।

 

११ किलोमिटर लम्बाई रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गर्न लागिएको हो ।

 

लगनखेल-सातदोबाटो सडक 

 

यो सडक कुल ८ सय मिटर लम्बाईको रहेको छ । सो सडक निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । घर भत्काउन नदिएपछि रोकिएको सडक विस्तार अब यथास्थितिमा बन्ने भएको हो । उक्त सडक निर्माणको काम अबको १ महिनाभित्र सम्पन्न हुने बताइए पनि लकडाउनका कारण प्रभावित हुन गएको हो ।

 

सो खण्डमा भत्काउनु पर्ने अवस्थामा रहेका ५५ घर मध्ये १२ घर भत्काउन स्थानीयले अवरोध गरेपछि यथास्थितिमा सडक निर्माण हुने भएको हो । यी ३ वटा सडक खण्डको निर्माण यही चालू आर्थिक वर्षको अन्तिमसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । लकडाउनका कारण यी सबै काम प्रभावित हुन गएको छ ।

 

इमाडोल-लामाटार सडक 

 

८ किलोमिटर लम्बाई रहेको सो सडक आगामी वर्षभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । सो सडक खण्ड चालू आवमा सम्पन्न हुन असम्भव रहेको हुँदा २०७७ भित्र सक्ने अनुमान गरिएको छ । सो खण्डमा ५६ वटा घर भत्काउनु पर्नेमा १० वटा मात्र घर भत्काइएको छ । अन्य बाँकी रहेका घर नभत्काई यथास्थितिमै सडक विस्तार अघि बढाइने आयोजनाको योजना रहेको छ ।

 

ढोलाहिटी-सरस्वती कुण्ड सडक

 

१२ किलोमिटर लम्बाई सो सडकखण्ड विस्तार आगामी आर्थिक वर्षसम्ममा सम्पन्न गरिने भएको छ । उक्त सडक खण्डमा विस्तारका क्रममा १ हजार १२० घर भत्काउनु पर्ने भएको थियो । स्थानीयको विरोध पछि सर्वोच्चले दिएको स्टेअडरपछि यथास्थितिमा सडक निर्माण अघि बढाइन लागेको हो । यो सडक निर्माण पूरा हुन १ वर्ष लाग्ने अनुमान गरिएको छ ।

 

कर्मनाशा खोला-गोदावरी कुण्ड सडक 

 

साढे ७ किलोमिटर लम्बाई रहेको यो सडक खण्ड सम्पन्न हुन अझै १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । यस सडक खण्डमा हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यो सडक आगामी १ वर्षमा पूरा गर्न नसके छोड्नुपर्ने अवस्था सृजना हुने देवकोटाले बताए । सो खण्डमा ४ सय घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।

 

जोरपाटी-सुन्दीजल सडक 

 

७ किलोमिटर लम्बाई यो सडक निर्माण आगामी १ वर्षमा पूरा हुने आयोजनाले जनाएको छ । सो खण्डमा ९ सय घर भत्काउनु पर्नेमा एउटै घर भत्काउन सकिएको छैन भने हाल भएकै स्थितिमा निर्माण गरिने भएको छ ।

 

नख्खुखोला-भैँसेपाटी सडक 

 

झण्डै ५ किलोमिटर लम्बाई रहेको सो सडक खण्ड निर्माण अबको १ वर्षमा सम्पन्न हुने भएको छ । हाल ६० प्रतिशत काम सम्पन्न भइसकेको सो सडक निर्माणका क्रममा १५२ घर भत्काउनु पर्नेमा २५ वटा मात्र घर भत्काइएको छ । अन्य घर नभत्काइ सोही अवस्थामा सडक विस्तार गरिने जनाइएको छ ।

 

पेप्सीकोला-सल्लाघारी सडक 

 

साढे ४ किलोमिटर सो सडकखण्ड निर्माण पूरा हुन अझै १ वर्ष लाग्ने भएको छ । सो खण्डमा ४ सय घर भत्काउनु पर्ने भएकोमा एउटै घर नभत्काइ सडक विस्तार अघि बढाइने भएको छ ।

 

यसरी उपत्यका सडक विस्तार आयोजनाले चालू आवमा सम्पन्न गर्ने भनेको काम सम्पन्न हुन असम्भव भएपछि उपत्यका विस्तार अन्तर्गतका सबै आयोजनाहरु आगामी वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

उपत्यका विस्तारमा कुल ९ वटा आयोजनाहरु रहेका छन् । जस मध्ये ३ वटा चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । अन्य ६ वटा आगामी वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको थियो । अब यी सबै आयोजनाहरु आगामी आर्थिक वर्षका लागि सारिने भएको छ ।

क्लासिक टेकका सबै कर्मचारीको कोरोना बीमा Read Previous

क्लासिक टेकका सबै कर्मचारीको कोरोना बीमा

सिनेमाहलहरु मृत्यु शय्यामा पुग्नै लाग्दा ‘नेटफ्लिक्स’ भने अनुमान गरेभन्दा दोब्बर ग्राहक बटुल्दै Read Next

सिनेमाहलहरु मृत्यु शय्यामा पुग्नै लाग्दा ‘नेटफ्लिक्स’ भने अनुमान गरेभन्दा दोब्बर ग्राहक बटुल्दै