काठमाडौं । विश्वमा बढ्दो कोरोना भाइरसको संक्रमणसँगै कोरोना बीमालेख प्रति मानिसको आर्कषण देखिएको छ ।
बीमा समितिको निर्देशनमा निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेबाट विक्री शुरु गरेको कोरोना बीमालेखा चार साताको अवधिमै ६० हजारभन्दा बढी विक्री भइसकेको छ ।
बीमा समितिका अनुसार शुक्रबारसम्ममा ६० हजारभन्दा बढी बीमा पोलीसि जारी भएको छ । त्यसबाट २ करोड ९५ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको छ ।
हाल सञ्चालनमा रहेका २० ओटै निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेका छन् ।पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएसँगै विभिन्न कम्पनीहरुले समेत आफ्ना कर्मचारीको सामूहिक रुपमा बीमा गर्न थालेपछि पोलीसी किन्नेको संख्या बढेको समितिको भनाइ छ ।
बीमा समितिले कोरोनाको बढ्दो जोखिमलाई मध्येनजर गर्दै यो पोलिसी ल्याएको थियो । समितिले कोरोना पाजेटिभ देखिन साथ भुक्तानी गर्ने गरी २ किसिमका पोलिसी ल्याएको छ । जसमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख छ।
१ लाख रुपैयाँ बराबरको व्यक्तिगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत समावेश गरेमा प्रतिव्यक्ति थप ६०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ ।
यस्तै ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा ३०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ ।
क-कसले गर्न सक्छन् कोरोना बीमा ?
यो बीमालेख भर्खरै जन्मिएका बालकदेखि ९९ वर्षसम्मको मानिसले गर्न सक्ने छन् । यसका लागि कुनै किसिमको चिकित्सकको परीक्षण आवश्यक पर्ने छैन ।
यस्तो बीमालेख खरिद गर्न चाहने मानिसले जुनसुकै निर्जीवन बीमा कम्पनीको नजिकको शाखा कार्यालय, बजार विभागका कर्मचारी बीमा अभिकर्ता वा प्रधान कार्यलयमा सोझै सम्पर्क गरी बीमालेख खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
बीमालेख खरिदकर्ताले बीमालेख वापतको रकम विभिन्न डिजिटल प्लेटफर्मबाट भुक्तानी गर्न सक्नेछन् ।
कसरी पाइन्छ भुक्तानी ?
बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।
यसरी बीमा पोलेसी किनेका मानिसको कोरोना भाइरस संक्रमण पुष्टी भएको खण्डमा बीमा कम्पनीले १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने छ । त्यसको लागि कुनै किसिमको भौचर वा बिलको आवश्यकता पर्ने छैन । बीमितको कोरोना पोजेटिभ भएको प्रमाणित भएको कागज भए दाबी भुक्तानी हुनेछ ।