काठमाठौं । कोरोना संक्रमितको संख्याका आधारमा भारतले चीनलाई उछिनेको छ । कोरोनाको उद्गम स्थान चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतमा संक्रमितको संख्या चीनकोभन्दा धेरै पुगेको छ । योसँगै भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशमा ११ औं स्थानमा पुगेको छ ।
वर्ल्डोमिटरको तथ्यांक अनुसार शनिबार बिहानसम्म भारतमा संक्रमितको संख्या ८५ हजार ९४० पुगेको छ । चीनमा अहिलेसम्म ८२ हजार ९४१ जना संक्रमित छन्। शुक्रबार एक दिनमै भारतमा ३,५४९ जनामा संक्रमण फेला परेको थियो। यो अहिलेसम्मकै उच्च दर हो।
भारतको कोरोना मृत्यु भने चीनको तुलनामा झन्डै आधा छ। चीनमा अहिलेसम्म ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन्। भारतमा यो संख्या २ हजार ७५३ छ। पछिल्लो २४ घन्टामै भारतमा १०४ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो समय औसतमा दैनिक ३ हजारभन्दा बढीका दरले संक्रमित बढ्दै गएको पाइन्छ। यस आधारमा भारतमा संक्रमित संख्या अझ बढ्दै जाने देखिन्छ।