एक सातामा जापानमा तीन चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ ।

 

नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो ।

 

निगमको वाइडबडी जहाज आज राति ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

 

उनका अनुसार २५० यात्रु लिएर नारिता उड्ने वाइडबडी जहाज भोलिपल्ट काठमाडौँ फर्कनेछ । काठमाडौं–नारिता गन्तव्यको उडान करिब साढे सात घण्टाको हुनेछ । निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो । यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो ।

 

निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ । निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा रित्तै हुनेछन् ।

 

निगमको वाइडबडी जहाज काठमाडौंको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौं–नारिता (जापान)चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

 

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सीधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ ।

 

निगमले जापानसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

सेनाले खरिद गरेको १० कन्टेनर स्वास्थ्य सामग्री खासा आइपुग्यो Read Previous

सेनाले खरिद गरेको १० कन्टेनर स्वास्थ्य सामग्री खासा आइपुग्यो

देशभर नयाँ सहर निर्माणका लागि २०% बढी बजेट माग, ३ स्मार्ट सिटीको मास्टर प्लान तयार Read Next

देशभर नयाँ सहर निर्माणका लागि २०% बढी बजेट माग, ३ स्मार्ट सिटीको मास्टर प्लान तयार