काठमाडौं । सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेको छन् ।
कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
शनिबारसम्म काठमाडौँ पठाइने तयारी भएको उनले बताए । सेनाले सो प्रक्रिया मार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ ।
चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जीटुजी प्रक्रियाबाट खरिद गरेर ल्याउँदै छ । कुल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सेनाले सेनाले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर (करिब सवा २ अर्ब रुपैयाँ) चिनियाँ पक्षलाई भुक्तानी गरिसकेको छ ।
स्वास्थ्य उपकरण खरिदका लागि सेनाले चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता गरेको छ ।
खरिद गरिएको अत्यावश्यक सामान हवाईजहाज मार्फत ल्याइनेछ भने बाँकी सामान स्थलमार्ग हुँदै ल्याइने सेनाले बताएको छ ।