काठमाडौं । कोरोना भाइरसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि देखिएकोछ । बैंकहरुले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ४० प्रतिशत बैंकहरुको खुद नाफा घटेको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुको नाफामा सामान्य सुधार आएको छ ।गत वर्ष समीक्षा अवधिसम्म औसतमा साढे १५ प्रतिशतले नाफा वृद्धि गरेका बैंकहरुले यस वर्ष औसतमा १.८० प्रतिशतले नाफा बढाएका छन् ।
चालू आवको चैतसम्ममा २७ वटा वाणिज्य बैंकहरुले ४५ अर्ब ६२ करोड नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा २.६५ प्रतिशत बढी हो । बैंकहरुले गत आवको सोही अवधिमा ४४ अर्ब ४२ करोड खुद नाफा कमाएका थिए । गत आवको तेस्रो त्रैमाससम्म यी बैंकहरूको खुद नाफा करिब साढे १५ प्रतिशतले वृद्धि भएको थियो ।
१२ बैंकको नाफा घट्यो
आलू आर्थिक वर्षको तस्रो त्रैमासमा १२ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । मुख्य गरी कोरोनाका कारण व्यवसाय विस्तार गर्न नसक्दा बैंकहरुको नाफा प्रभावित भएको हो ।

यस्तै बैंकहरूले समयमै कर्जा असुली गर्न नसक्दा, राष्ट्र बैंकको निर्देशन अनुसार चैतमा किस्ता भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत ब्याज छुट दिँदा, बैंकहरुको सञ्चालन खर्च समेत बढ्दा नाफामा प्रत्यक्ष असर परेको हो ।
तेस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा सिभिल बैंक र बैंक अफ काठमाण्डू घटेको छ । यी दुवै बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलानामा २७ प्रतिशतभन्दा बढीले घटेको छ ।
यस्तै, सनराइज बैंकको २४ प्रतिशतले घटेको छ भने नेपाल एसबीआई, राष्ट्रिय वाणिज्य, नेपाल, नेपाल बंगलादेश, सिदार्थ बैंकको खुद नाफा १० प्रतिशतभन्दा बढीले घटेको छ ।
यस्तै, निजी क्षेत्रका बैंकहरुमा सधैं अब्बल रहँदै आएको नबिल बैंको समेत नाफा घटेको छ । यसको खुद नाफा १ प्रतशतभन्दा बढीले घटेको छ ।
वाणिज्य बैंकहरुले चालू आवको तेस्रो त्रैमाससम्ममा ३० खर्ब ७० अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ खर्ब २ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा निक्षेप संकलन औसत १६.७१ र कर्जा प्रवाह औसत १६.४७ प्रतिशतले बढी हो ।
९ बैंकको नाफा २ अर्ब माथि
तैस्रो त्रैमाससम्म ९ वटा बैंकले २ अर्बभन्दा बढी नाफा कमाएका छन् । तीमध्ये नबिल बैंक, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब रुपैयाँभन्दा बढी छ ।
चालू आवमा सबैभन्दा धेरै नाफा नबिल बैंकले ३ अर्ब १५ ८६ लाख ८५ हजार खुद नाफा कमाएको छ भने ग्लोबले आइएमईले पनि ३ अर्ब १५ करोड बढी नाफा कमाएको छ ।
यस्तै, एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, हिमालय, कृषि विकास बैंक र प्राइम बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा बढी छ ।
यस्तै, नेपाल, एनएमबी, स्ट्यान्डर्ड चार्टर्ड र सानीमा बैंकले डेढ अर्बभन्दा बढी नाफा कमाएका छन् भने प्रभु, मेगा, नेपाल एसबीआई लगायत १० वटा बैंकले १ अर्ब बढी नाफा कमाएका छन् ।

यस्तै, सिभिल, सेञ्चुरी, सनराइज र बैंक अफ काठमाण्डूले १ अर्बभन्दा कम नाफा कमाएका छन् । चालू आवमा सबैभन्दा कम नाफा कमाउने बैंक सिभिल रहेको छ । चैतसम्ममा सिभिलले ३६ करोड नाफा कमाएको छ ।
ग्लोबल आइएमईलाई मर्जरको फाइदा
१ दर्जन बैकको नाफा घट्दा पनि ग्लोबल आइएमई बैकले भने मर्जरको फाइदा उठाउँदै नाफामा उल्लेख्य वृद्धि गरेको छ ।
जनता बैंकलाई आफूमा गाभेको ग्लोबले गत वर्षको तुलनामा खुद नाफा ६८ प्रतिशतले बढाएको छ । जनता बैंकसँग मर्जर गरेर एकीकृत कारोबार गरेको ग्लोबल आईएमई बैंकले जनताको मर्जर अगाडि कमाएको रकम समेत जोड्दा ४४ प्रतिशत नाफा बढाएको हो ।
यस्तै मर्जर तथा एक्विजिसन मार्फत चूक्ता पूँजी बढाएका बैंकहरुले पनि नाफामा वृद्धि गरेका छन् । राष्ट्रिय स्तरको कैलाश विकास बैंक र क्षेत्रीय स्तरको कन्काई विकास बैंकलाई गोभेको प्राइम कमर्सियल बैंकको मुनाफा पनि २३ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, राष्ट्रिय स्तरकै ओम डेभलमेन्ट बैंकलाई गाभेको एनएमबी बैंकले पनि खुद मुनाफा १२ प्रतिशत भन्दा बढीले वृद्धि गरेको छ । तेस्रो त्रैमासमा सेत्तचुरी बैंकले ५० प्रतिशत नाफा बढाएको छ भने मेगा बैंकले १६ प्रतिशत नाफा वृद्धि गरेको छ ।
तीन ओटै सरकारी बैंको नाफामा गिरावट
चालू आवको तेस्रो त्रैमासमा सरकारी स्वामित्व रहेको तीन ओटै बैंकको खुद नाफा घटेको छ । गत आव सर्वाधिक नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको नाफा १३ प्रतिशतले घटेको छ भने कृषि विकास बैंकको करिब ८ प्रतिशतले घटेको छ ।
यस्तै चालू आवको पहिलो त्रैमासदेखि नै नाफा घट्दै आएको नेपाल बैंकको तस्रो त्रैमाससम्म निरन्तर नाफामा गिरावट आएको छ ।
नोट : प्रस्तुत तथ्यांक सम्बन्धित बैंकहरुले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित छ ।